काठमाडौं– जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ ।
हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ४ः२७ बजे आएको भूकम्प जापानको सिन्डो स्केलमा उच्च स्तरमा मापन गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले यसको तीव्रता ६।८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको जनाएको छ भने जापानी अधिकारीहरूले यसलाई ७।१ म्याग्निच्युडको भूकम्प बताएका छन् ।
जापानका सम्बन्धित अधिकारीहरूले मृत्यु हुने सबै व्यक्तिको मृत्यु प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएको हो वा होइन भन्ने विषयमा अझै पुष्टि भइरहेको बताएका छन् ।
प्रारम्भिक विवरणअनुसार सात जना गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरूको उपचार भइरहेको छ ।
सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एउटा सपिङ मलमा भएको छ ।
सरकारी स्रोतका अनुसार भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएका थिए ।
मल सञ्चालक कम्पनी एओनका प्रवक्ताले ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि विस्फोट भएको जानकारी दिए ।


विश्व खबर 




















