images
images
  • होर्मुज जलमार्गमा समुद्री माइनसँग तेल ट्यांकर ठोक्कियो

    काठमाडौं– विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्गमा एक तेल ट्यांकर समुद्री माइनसँग ठोक्किएपछि आगलागी भएको छ ।

    इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानी सुरक्षा निकायले तोकेको आधिकारिक समुद्री मार्गभन्दा बाहिरबाट यात्रा गरिरहेको बेला माइनसँग ठोक्किएको हो ।

    अर्ध–सरकारी मेहर समाचार संस्थाले पनि सुरक्षा स्रोतलाई उद्धृत गर्दै जहाज निर्धारित मार्गबाट विचलित भएकै कारण दुर्घटना भएको जनाएको छ ।

    इरानले गत जुन २६ मा होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै व्यापारिक जहाजलाई सुरक्षा निकायले निर्धारण गरेको मार्ग अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको थियो ।

    तोकिएको मार्ग उल्लंघन गर्ने जहाजले त्यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने चेतावनी पनि इरानले पटक–पटक दिँदै आएको छ ।

    यद्यपि, घटनाबारे इरानी अधिकारीहरूले अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

    दुर्घटनामा परेको ट्यांकरको परिचय, आगलागीबाट भएको क्षति तथा कुनै मानवीय हताहती भएको वा नभएको विषय पनि पुष्टि हुन बाँकी छ ।

    अमेरिका र इरानबीच फेब्रुअरीमा युद्ध सुरु भएयता कुनै व्यापारिक जहाज समुद्री माइनसँग ठोक्किएको यो पहिलो घटना हो ।

    युद्धका क्रममा इरानले होर्मुज जलमार्गका विभिन्न क्षेत्रमा समुद्री माइन बिछ्याएको थियो ।

    त्यसपछि भएको युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

    यस घटनाले विश्व ऊर्जा आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय जलमार्ग सुरक्षाबारे पुनः चिन्ता बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images