न्युयोर्क– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सिटीका मेयर जोहरान मामदानीमाथि समाजमा घृणा र विभाजन फैलाउने प्रयास गरेको आरोप लगाएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने योजना यथावत रहेको र आफूलाई पक्राउ गर्ने चेतावनीबाट चिन्तित नरहेको बताए ।
मेयर मामदानीले यसअघि नेतान्याहुलाई ‘युद्ध अपराधी’ भन्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को पक्राउ पुर्जी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यद्यपि पछि उनले न्युयोर्क सिटीसँग त्यस्तो अधिकार नभएको र त्यसको जिम्मेवारी संघीय सरकारको भएको स्पष्ट पारेका छन् ।
यो विवाद सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको इजरायल–गाजा युद्धको पृष्ठभूमिमा आएको हो ।
इजरायलले युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ भने आईसीसीले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।


विश्व खबर 




















