काठमाडौं– कैलालीको धनगढीमा अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिसँग सरकारको वार्ता जारी छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहभागी टोलीले सेती प्रादेशिक अस्पतालमा छलफल गरिरहेको हो ।
सरकारले पहिलो चरणमा डा.केसीका प्रतिनिधिसँग सहमतिको प्रयास गरिरहेको जनाएको छ ।
सहमति भएमा त्यसपछि डा.केसीसँग प्रत्यक्ष वार्ता गरिने बताइएको छ ।
डा.केसी पाँचबुँदे मागसहित गत बिहीबारदेखि अनशनमा छन् ।
स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
उनका प्रमुख मागमा चिकित्सा शिक्षा क्षेत्रमा भएका विवादित नियुक्ति खारेज, छात्रवृत्ति कटौती र निजी मेडिकल कलेजमा मापदण्डविपरीत सिट वृद्धि रोक्नुपर्ने, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन, विगतका सहमति पालना तथा भ्रष्टाचार र हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने रहेका छन् ।


विश्व खबर 




















