images
images
  • नाबालिग डिम्ब अवैध प्रकरण : बीएन्डबी हस्पिटलका विशेषज्ञ डाक्टर शर्मामाथि अनुसन्धान

    काठमाडौं– १६ वर्षीया किशोरीको डिम्ब अवैध रूपमा संकलन तथा कारोबार गरिएको आरोपमा प्रहरीले गरिरहेको अनुसन्धानको दायरा विस्तार हुँदै गएको छ।

    यस प्रकरणमा विएण्डवि हस्पिटलकाे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आइभिएफ (टेस्ट–ट्युब बेबी) विशेषज्ञ डा. नूतन शर्मामाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेकाे प्रहरी स्रोतले जनाएको छ।

    प्रहरी स्रोतका अनुसार हाल बीएन्डबी अस्पतालमा कार्यरत डा. शर्माको सम्भावित भूमिकाबारे अनुसन्धान भइरहेको हो। प्रारम्भिक अनुसन्धानबाट बिचौलिया राधिका गौतमले डा. शर्माकै सिफारिसमा ती नाबालिग किशोरीलाई बीएन्डबी अस्पतालस्थित आइभिएफ सेन्टरमा पुर्‍याएको खुलेको प्रहरीको दाबी छ।

    अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार किशोरीलाई डिम्ब उत्पादन बढाउन हर्मोनको इन्जेक्सन लगाइएको थियो। त्यसपछि सात दिनपछि पुनः अस्पताल आउन भनिएको थियो। तर घर फर्किएपछि किशोरीको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको अनुसन्धानबाट खुलेको छ।

    स्वास्थ्य अवस्था बिग्रिएपछि किशोरी केही घण्टा ढिलो गरी पुनः आइभिएफ सेन्टर पुगेकी थिइन्। तर, ढिलो आएको भन्दै चिकित्सकले हप्काएर फर्काइदिएको आरोप पनि अनुसन्धानको विषय बनेको छ।

    त्यसपछि किशोरीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि परिवारले कारणबारे सोधपुछ गरेको थियो। त्यसक्रममा किशोरीले आफूलाई डिम्ब दानका लागि आइभिएफ सेन्टरमा लगिएको र उपचार प्रक्रिया अघि बढाइएको जानकारी अभिभावकलाई दिएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएपछि घटनाको औपचारिक अनुसन्धान सुरु भएको हो।

    यस घटनामा संलग्नता देखिएका व्यक्तिहरूमाथि मानव शरीरका अंग तथा जैविक सामग्रीको अवैध कारोबार, नाबालिगको शोषण तथा प्रचलित कानून उल्लंघनका विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    यसैबीच, डा. नूतन शर्मा यसअघि पनि विवादमा तानिएकी थिइन्। लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले उनको चिकित्सकीय इजाजतपत्र (लाइसेन्स) तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। तर अदालतले काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भने जारी गरेको थिएन।

    प्रहरीले भने हालको अनुसन्धान जारी रहेकाले कसैलाई दोषी ठहर गर्ने अन्तिम निष्कर्षमा नपुगिएको जनाएको छ। अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images