काठमाडौं– अमेरिकी सेनाले इरानमाथि लगातार नवौँ रात पनि हवाई हमला जारी राखेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सैन्य मुख्यालय, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, वायु प्रतिरक्षा प्रणाली र सञ्चार पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक मिसाइल निर्माण क्षमतालाई पूर्ण रूपमा समाप्त पार्ने उद्देश्यले सैन्य अभियान सञ्चालन भइरहेको बताएका छन् ।
यसैबीच, उत्तरी इराकमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएका छन् ।
यससँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको अमेरिकी पक्षले जनाएको छ ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले जोर्डन, कुवेत, ओमानलगायतका देशमा रहेका अमेरिकी सैन्य अखडामाथि ड्रोन र मिसाइल आक्रमण जारी रहेको दाबी गरेको छ ।
बहराइनस्थित अमेरिकी दूतावासले पनि सुरक्षा सतर्कता जारी गरेको छ ।
इरानले अमेरिकाले डारखोविन आणविक ऊर्जा केन्द्रको निर्माणस्थलमा हमला गरेको आरोप लगाएको छ ।
दुवै पक्षले सैन्य कारबाही तीव्र बनाइरहेकाले मध्यपूर्वमा क्षेत्रीय युद्ध थप चर्किने जोखिम बढेको विश्लेषण गरिएको छ ।


विश्व खबर 




















