काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२÷०८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
कम्पनीले आफ्नो रजत जयन्ती (२५औँ वर्ष)को अवसरमा सार्वजनिक गरेको विवरणअनुसार १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने यो उपलब्धि नेपालको जीवन बीमा इतिहासमै पहिलो भएको जनाएको छ ।
गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेर कायम गरेको कीर्तिमानलाई यस वर्ष कम्पनीले अझ उचाइमा पुर्याएको हो ।
नेपाल लाइफले विगत २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर जीवन बीमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यस उपलब्धिले कम्पनीलाई नेपाली जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाका रूपमा थप स्थापित गरेको जनाएको छ ।
यस ऐतिहासिक सफलताप्रति कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, कम्पनीप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबै सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजनाको विकास, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रियस्तरको बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीले २५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धिलाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी र सरोकारवालाको साझा सफलताका रूपमा ग्रहण गर्दै भविष्यमा पनि नेपाली जीवन बीमा क्षेत्रमा नयाँ–नयाँ उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।


विश्व खबर 




















