काठमाडौं– इरानले अमेरिकासँग भएको इस्लामाबाद सम्झौता अब प्रभावहीन भएको घोषणा गरेको छ ।
अमेरिकी सैन्य आक्रमण र पुनः लागू गरिएको नाकाबन्दीपछि इरानले उक्त सम्झौता व्यवहारिक रूपमा समाप्त भएको जनाएको हो ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अब इस्लामाबाद सम्झौता भन्ने कुनै चिज बाँकी छैन ।
उनका अनुसार पछिल्ला घटनाक्रमले दुवै देशबीचको सहमतिको आधार समाप्त गरिदिएको छ ।
अमेरिकाले होर्मुज जलडमरूमध्य आसपास रहेका इरानका क्षेप्यास्त्र तथा ड्रोन अड्डा, नौसैनिक पूर्वाधार र तटीय रक्षा प्रणालीलाई लक्षित गर्दै करिब सात घण्टासम्म सैन्य कारबाही गरेको जनाएको छ ।
यसको जवाफस्वरूप इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
यी दाबीबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
गत जुन महिनामा क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच इस्लामाबाद सम्झौता (एमओयू) भएको थियो ।
तर हर्मुज जलमार्गमा पुनः बढेको तनावसँगै दुवै मुलुकबीच सैन्य भिडन्त फेरि चर्किएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए आगामी सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र प्रमुख पुलहरूलाई लक्षित गरी थप सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।
यस घटनाक्रमले मध्यपूर्वमा सुरक्षा चुनौती झन् गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ ।


विश्व खबर 




















