काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच बढ्दो मतभेदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पद संकटमा परेको स्रोतहरूको दाबी छ ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको कार्यशैली, बजेट कार्यान्वयन, शेयर बजारप्रतिको दृष्टिकोण तथा आर्थिक नीतिप्रति असन्तुष्टि जनाउँदै उनलाई हटाएर सांसद विदुषी राणालाई अर्थमन्त्री बनाउने प्रस्ताव अघि सारेको बताइएको छ ।
तर, सभापति लामिछानेले तत्काल मन्त्री परिवर्तनको पक्षमा नरही संवादमार्फत समस्या समाधान गर्नुपर्ने अडान लिएका छन् ।
दुवै नेताबीचको विवाद अर्थ मन्त्रालयको भूमिकामात्र नभई सरकार सञ्चालनको शैली, मन्त्रालयको स्वायत्तता, प्रधानमन्त्री कार्यालयको हस्तक्षेप तथा केही संवेदनशील प्रशासनिक निर्णयलाई लिएर पनि चर्किएको बताइन्छ ।
यसैबीच लामिछानेले पनि केही मन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै मन्त्रिपरिषद् पुनर्गठनको आवश्यकता औंल्याएका छन् ।
पार्टीभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा समेत शक्ति सन्तुलन नमिल्दा आन्तरिक रस्साकस्सी जारी रहेको स्रोतको दाबी छ ।
पछिल्ला दिनमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच लगातार लामो छलफल भए पनि विवाद समाधान भइसकेको छैन ।
मन्त्रिपरिषद्मा सीमित हेरफेर हुन सक्ने चर्चा भए पनि तत्काल ठूलो पुनर्गठन हुने संकेत भने सार्वजनिक रूपमा दिइएको छैन ।


विश्व खबर 




















