images
images
  • युक्रेनी आक्रमणमा ४ जना रूसी नागरिकको मृत्यु, ७ घाइते 

    काठमाडौं– रूसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए ।

    क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले रूसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ ।

    किएभले रूसी ऊर्जा संरचना तथा अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ ।

    मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले टेलिग्राममार्फत इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खसेर तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए ।

    सोही क्षेत्रको अर्को भागमा थप दुई जना घाइते भएको उनले बताए ।

    रूसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन नष्ट गरेको भोरोब्योभले दाबी गरे ।

    युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

    यसैगरी, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा भएको ड्रोन आक्रमणपछि एउटा औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले जानकारी दिए ।

    उनका अनुसार घटनास्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र मानवीय क्षति भएको छैन ।

    ‘क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम कायमै छ । सबैलाई सतर्क रहन आग्रह गर्दछु,’ उनले भने ।

    यसैबीच, युक्रेन युद्ध अन्त्यका लागि रूसमाथि दबाब बढाउने विषयमा छलफल गर्न युक्रेनका सहयोगी राष्ट्रहरू सोमबार पेरिसमा भेला हुँदैछन् ।

    अमेरिकाले इरानसँगको बढ्दो तनावमा ध्यान केन्द्रित गरेपछि युक्रेन युद्ध अन्त्यका लागि भइरहेको अमेरिकी नेतृत्वको कूटनीतिक पहल पछिल्ला महिनामा सुस्त बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images