images
images
  • एमालेको भागमा परेको रिक्त शिक्षामन्त्री पदपूर्तिका लागि देउवा ढुक्दै प्रधानमन्त्री ओली

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी छन् ।

    स्वास्थ्यका कारण पदबाट राजीनामा दिएको प्रधानमन्त्री केपी शर्माले स्पष्ट पारेका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो असहयोग र उपेक्षाका कारण नभई भट्टराईले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएको स्पष्ट पारेका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’

    यतिमात्रै होइन, ओलीले शिक्षामन्त्रीको राजीनामालाई लिएर अनेकन् भ्रामक टीकाटिप्पणी भएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्रीले शिक्षामन्त्रीको राजीनामाको स्पष्टिकरण दिँदै गर्दा शिक्षकहरू गत चैत २० गतेबाट विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग गर्दै सडक आन्दोलनमा छन् । उनीहरूको माग सम्बोधनका लागि भट्टराई सकारात्मक थिइन् । तर, शिक्षकका मागप्रति प्रधानमन्त्री नै अनुदार बनेपछि मन्त्री पदबाट राजीनामा दिन बाध्य भएको उनीनिकट स्रोत बताउँछ ।

    मन्त्री भट्टराईले शिक्षकका पक्षमा अनौपचारिक, औपचारिक वार्ता र छलफलमार्फत सातबुँदे सहमतिको खाका तयार पारेकी थिइन् । उक्त खाकाप्रति शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सहमतिको नजिक थिए ।

    खाका कार्यान्वयनका लागि सुवेदीले एकपटक प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने आवश्यक ठानेको थिए । तर, प्रधामन्त्रीले त्यसतर्फ कुनै चासो नदेखाएपछि आन्दोलन अगाडि बढ्यो ।

    त्यतिमात्रै नभएर भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेकी थिइन् । छलफलबाट सकारात्मक परिणाम ननिस्केपछि मन्त्री पदबाट उनले राजीनामा दिन बाध्य भइन् ।

    देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् । आन्दोलन उत्कर्षमा पुगेकै समयमा शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले शिक्षकहरू अन्योलमा परेका छन् ।

    मन्त्रीले राजीनामा दिएसँगै उक्त पद रिक्त छ । गत असार १७ गते मध्यराति कांग्रेस–एमालेको सत्ता गठबन्धन भएसँगै एमालेको भागमा शिक्षामन्त्री परेको थियो ।

    ओलीले आफ्नो भागमा परेको उक्त मन्त्रालयको मन्त्री पदमा एमाले सांसद भट्टराईलाई नियुक्त गरेका थिए । तर, प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विपति बढ्दै गएपछि उनले राजीनामा दिएकी हुन् । भट्टईको राजीनामा पश्चात् रिक्त शिक्षामन्त्री पदमा एमालेले कसलाई मन्त्री नियुक्त गर्छ ? भन्ने सर्वत्र चासो बढेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली तत्काल रिक्त मन्त्री पदपूर्ति गर्ने मुडमा नदेखिएको एमालेका एक नेता बताउँछन् । उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा विश्व खबरलाई बताएअनुसार प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता भएपछि मात्रै प्रधानमन्त्रीले एमालेबाट शिक्षामन्त्री नियुक्त गर्नेछन् ।

    देउवापत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा र छोरा जयवीरसिंह यतिबेला थाइल्याण्डको बैंककमा छन् । यसअघि सिंगापुरमा स्वास्थ्योपचार गराएका उनी बैंककमा फलोअपमा छन् ।

    देउवापत्नी एवं परराष्ट्रमन्त्री भने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स्) इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप)को ८१औँँ सत्रमा भाग लिन राणा बैंकक पुगेकी हुन् । उक्त सत्र यहीँ बैशाख १२ गतेसम्म चल्नेछ ।

    नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेको छ । त्यसैले मन्त्री राणाले नै आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो । सोहीअनुसार उनी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग विषयक संवादमा पनि सहभागी हुने उनको सचिवालयले बताएको छ ।

    देउवा परिवार गत आइतबार बैंकक प्रस्तान गरेका थियो । देउवा स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले थप छलफल गरेर रिक्त शिक्षामन्त्री पदपूर्ति गर्नेछन् । उनी स्वदेश नफर्किएसम्म रिक्त शिक्षामन्त्री पदपूर्ति गर्ने पक्षमा ओली नरहेको ती एमाले नेता बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images