काठमाडौं– नेपाल प्रहरीले विपद्का कारण भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमार्फत सम्प्रेषण तथा शेयर नगर्न आम नागरिकलाई आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार सूचना जारी गर्दै विपद्को संवेदनशील अवस्थामा अपुष्ट सामग्री फैलाउँदा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ ।
प्रहरीले विपद्सम्बन्धी पुष्टि भएका सूचना मात्र शेयर गर्न आग्रह गरेको छ। साथै, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको दृश्य वा विवरण भन्दै सामाजिक सञ्जालमा पोस्ट तथा शेयर नगर्न र कुनै पनि सामग्री सम्प्रेषण गर्नुअघि त्यसको स्रोत तथा सत्यता अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ ।
प्रहरीले उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई तत्काल जानकारी गराउन समेत आग्रह गरेको छ ।
विपद्का बेला फैलिने गलत तथा भ्रामक सूचनाले उद्धार तथा राहतका लागि आवश्यक स्रोत र जनशक्तिको परिचालनमा समेत असर पार्न सक्ने भएकाले नागरिकलाई जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न प्रहरीले अपिल गरेको छ ।























