images
images
  • राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्यको पदावधि सकिदै

    काठमाडौं- राष्ट्रिय सभाका २० सांसदको ६ वर्षको पदावधि सकिनै लागेकाले बिदाइका दिन नजिकिँदैछ। २० सांसदको पद रिक्त हुन लागेपछि विभिन्न राजनीतिक दलमा चलखेल पनि सुरु भएको छ। राष्ट्रिय सभामा जानका लागि नेताहरुले आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग सम्बन्ध अझ बढाउन थालेका छन्।

    कुन समूहमा पद रिक्त हुने हो र आफू जान मिल्ने हो कि, नमिल्ने हो भनेर चासो राख्न थालेका छन्।

    निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भएका २० सांसदहरु बिदाइ हुन लागेकाे हाे। निर्वाचन आयोगले सांसदहरूको निर्वाचनका लागि आन्तरिक तयार सुरु गरेको छ।

    राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ। तीमध्ये संविधान जारी हुँदाको बखत पहिलो पटक सदस्यहरूको पदावधि गोलाप्रथाद्वारा गरिएको थियो। अब बिदाइ हुने सूचीमा रहेका सांसदको छ वर्षको पदावधि सकिन लागेको हो। यसअघि दुई वर्ष र चार वर्षको पदावधि सकिएका सांसदको बिदाइ भइसकेको छ ।

    यसरी बिदाइ हुनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि छन्। उनी गण्डकी प्रदेशबाट पुरुष समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ । यसैगरी, नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशबाट अनिता देवकोटा महिला समूहबाट प्रतिनिधित्व गर्छिन्।

    यस्तै, कांग्रेसका मधेश प्रदेशबाट जितेन्द्रनारायण देव (पुरुष), गण्डकीबाट प्रकाश पन्थ (अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय), कोशी प्रदेशबाट रमेशजङ्ग रायमाझी (पुरुष) पनि बिदाइको नजिकमा छन् ।

    नेकपा (एमाले) का तर्फबाट सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरिया (महिला) समूहबाट, लुम्बिनीबाट खिमलाल भट्टराई (पुरुष), गण्डकीबाट दीपा गुरुङ (महिला), बागमतीबाट दिलकुमारी रावल थापा (पार्वती) (महिला), कर्णालीबाट नरपति लुवार (पुरुष-दलित समूह), कर्णालीबाट भैरवसुन्दर श्रेष्ठ (अन्य), बागमतीबाट रामचन्द्र राई (पुरुष-अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय)  बाट प्रतिनिधित्व गर्ने सदस्यहरु बिदाइको नजिक छन्।

    यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुदूरपश्चिम प्रदेशबाट महेशकुमार महरा (अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय), कोशी प्रदेशबाट बिना पोखरेल (महिला), सुदूरपश्चिमबाट हरिराम चौधरी (पुरुष) समूहबाट प्रतिनिधित्व गर्नुहुने सांसद हुनुहुन्छ ।

    यसैगरी, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कर्णाली प्रदेशबाट नन्दा चपाई (महिला) र बागमती प्रदेशका सिंगबहादुर विश्वकर्मा (दलित), जनता समाजवादी पार्टीका मधेश प्रदेशबाट प्रमिला कुमारी (महिला) समूहबाट प्रतिनिधित्व गर्ने सांसद छन्।

    यसैगरी, स्वतन्त्र सांसद बागमती प्रदेशबाट खिमलाल देवकोटा (पुरुष) समूहबाट बिदाइको नजिक छन्।

    अर्यालले भने, “विगतमा जुन प्रदेश र समूहबाट प्रतिनिधित्व गरेर निर्वाचित हुनुभएको हो, रिक्त पदमा सोही प्रदेश र समूहबाट मात्रै पदपूर्ति हुनेछ।”

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत भएका डा. विमला राई पौड्यालको पनि पदावधि सकिएका कारण बिदाइको नजिक छिन्। सांसद पौड्यालको रिक्त पदमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद मनोनीत गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस्

    images