
काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन्। शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन्। यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक मुख्यमन्त्री बनेका थिए।
कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन आवश्यक पर्दछ।
मुख्यमन्त्री कार्कीले आज शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने पनि तयारी गरेका छन्। राजनीतिक समीकरण नै परिवर्तन गरेर कांग्रेस नेता कार्की एमालेको समर्थनमा कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन्।
नियुक्त गर्नुअघि प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गराएका थिए। कार्कीको पक्षमा बहुमत हस्ताक्षर पुगेपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने सनाखत प्रक्रियामै सहभागी बनेनन्।
प्रतिक्रिया दिनुहोस्