• पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेकपा एमाले माधव नेपाल र भीम रावलमाथि कारबाही

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

    उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    अदालतबाट एमाले पुनःस्थापनापछि पेरिसडाँडामा बैठक बसेर केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै फर्केका नेता नेपालले विभिन्न ठाउँमा पार्टीका नाममा भेला र बैठक गरेको तथा समानान्तर कमिटीहरु गठन गरी पार्टी फुटाउन खोजेको आरोप लागेको थियो । यसबीचमा एमाले भइसकेपछि पनि पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधेको थियो ।

    नेपाल र रावलले उल्टै अध्यक्ष ओलीमाथि आरोपहरू लगाउँदै प्रतिस्पष्टीकरण मागेपछि उनीहरू कारबाहीको भागिदार हुने अ‍ोलीले बताइसकेका थिए ।

    सोमवार बालुवाटारमा महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलपछि नेपाल र रावलका गतिविधि एमाले फुटाउने र प्रचण्डको इशारामा चलिरहेको ठहर गर्दै ६ महिना पार्टी सदस्यबाट निलम्वन गर्ने निर्णय भएको एक नेताले बताए । भुसाल र पाण्डेले भने स्पष्टीकरण बुझाएका छैनन् ।

    माधव नेपाल भन्छन्- केपी ओलीको कारबाही खारेज गर्छौं
    ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बित भएका नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले गरेको कारबाही स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् ।

    नेपालले भने- ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । यस्ता कारबाही स्वीकार गरिन्न,चाँडै बैठक बसेर हामी निर्णय लिन्छौं ।’ नेपालले कार्यकर्तालाई विचलित नहुन समेत आग्रह गरेका छन् । नेपाल र रावलको आजै कारबाहीको बारेमा वक्तव्य आउने बताइएको छ ।

    भीम रावलको प्रतिक्रिया- केपी ओली एमालेको अवैधानिक अध्यक्ष हुन्

    एमाले नेता भीम रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्यको संज्ञा दिएका छन् । रावलले वक्तव्य जारी गर्दै देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओली अवैधानिक अध्यक्ष रहेको दावी गरेका छन् ।

    रावलले भनेका छन्- नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचत केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अश्वीकार गर्दछु ।

    कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    श्री माधवकुमार नेपाल र भीमबहादुर रावल,

    सदस्य, दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) ।

    विषय : निलम्बन गरिएको सम्बन्धमा ।

    तपाईं, भीमबहादुर रावललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियो ।

    १. तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

    २०. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुल त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको ।

    ३. आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिकै लागि पार्टीमा समाहित हने साथै विगतमा भए गरेका गलत तथा आपराधिक क्रियाकलापप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।

    ४. तपाईंले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखाएको, पार्टीकै लागि एकताकै लागि भ्रम फिजाएर कार्यकर्ता फसाउने र गलत उद्देश्य तथा मनासायका निम्ति दुरूपयोग गर्ने सम्भावना देखिएको ।

    ५. यस्तै गतिविधिहरु कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्नेअवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ ।

    तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

    प्रतिक्रिया दिनुहोस्