काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ भदौमा शाखा अधिकृत राजीव रिमाललाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटायो ।
हालै लोकसेवा परीक्षा पास गरेर नियुक्त भएका रिमालको पहिलो पदस्थापन कालीगण्डकीमा भएको थियो । तर, मन्त्रालयको पत्र लिएर गाउँपालिका कार्यालयमा पुगेका रिमालले हाजिर नै लगाउन पाएनन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले उनलाई हाजिर गर्न रोकेका हुन् ।
कालीगण्डकीले रिमाललाई कामकाजमा खटाउन असमर्थ भएको भन्दै हाजिर नै नगराई फिर्ता गरिदिएको पत्र २५ भदौमा मन्त्रालयलाई पठायो । प्रशासकीय अधिकृतको पद रिक्त नभएको अवस्थामा जानकारी र सरसल्लाह नै नगरी कामकाजका लागि कर्मचारी खटाइएको भन्दै त्यसप्रति गम्भीर आपत्ति रहेको पालिकाको पत्रमा उल्लेख छ । रिमाललाई खटाउनुअघि त्यहाँ देवेन्द्र पाण्डेय प्रमुख प्रशासकीय अधिकृत थिए । संघले पाण्डेयलाई १० महिनामै सरुवा गरेर रिमाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएको थियो । संघ र पालिकाबीचको विवादले कालीगण्डकीमा हाल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन, । अहिले पालिका निमित्त प्रशासकीय अधिकृतले चलाइरहेका छन् ।
इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कार्यालयभित्रै अनैतिक यौन गतिविधि गरेपछि उनलाई मन्त्रालय तानियो । त्यहाँ ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा कार्यरत स्काई पोखरेललाई ४ भदौमा पठाइयो । तर, आफूलाई हाजिर गर्न नदिइएको आरोप उनले लगाए । २४ भदौमा पालिकामा हाँजिर गर्न जाँदा पालिका अध्यक्षले नदिएको उनको आरोप छ । ‘मन्त्रालयले सरुवा गरेपछि हाँजिर गर्न जाँदा पालिका अध्यक्षले हाँजिर गर्न दिनुभएन,’ उनले भने, ‘हाँजिर नगराउनुपर्ने आधार र कारण पनि मलाई दिइएन । अहिले मन्त्रालयबाट स्विकृत गरेर बिदामा छु ।’
तर, माईजोगमाईका अध्यक्ष कुशबहादुर थेबे भने पोखरेलले साबिकको पालिकामा लेखापरीक्षण गराउनुपर्ने काम बाँकी रहेको भनेकाले सबै टुंग्याएर आउन भनेको बताउँछन् । ‘म कार्यालयमा भएका वेला उहाँ आउनुभएको थिएन । हाजिर गर्नुपूर्व कुराकानी गरेर समन्वयमा अघि बढौँ भनेको हुँ । पोखरेल फर्केर आउनुभएको छैन,’ थेबेले भने । पोखरेल अहिले गाउँपालिकाको सम्पर्कमा नरहेको उनी बताउँछन् । यो गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ । निमित्तले चलाइरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक महिनामै बैतडीको डिलासैनी, हुम्लाको सिमकोट, कपिलवस्तुको मायादेवी, धनुषाको जनकनन्दिनी, दैलेखको ठाँटीकाँध र सिराहाको बरियारपट्टी गाउँपालिकाले पनि प्रशासकीय अधिकृत फिर्ता पठाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्