images
images
  • लुम्बिनी पुगेर प्रधानमन्त्री प्रचण्डले भने- मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ

    लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् ।

    उनले भने ’लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ ।’

    २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएको जानकारी दिए ।

    उनले सम्पूर्ण मानवजातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए ।

    उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारी दिए ।

    प्रधानमन्त्री ’प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने बताएका छन्। प्रचण्डले आफू ’जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताएका हुन्।

    ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रचण्डले भने।

    प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।

    प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने बताए।

    उनले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दाबी गरे।
    समारोहमा लिखित मन्तव्य वाचन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताए।

    ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान÷विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ,’ उनले भने।

    नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताउँदै उनले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको उल्लेख गरे।

    ‘संसारभरिका ४ अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला? अन्दाज गर्न पनि गाह्रो छ,’ उनले भने, ‘तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ। प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो। वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ।’

    पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको प्रधानमन्त्रीले उल्लेख गरे। संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्ने उनले उल्लेख गरे।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images