
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् ।
बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।
‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, बिहीबार ओलीले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने ।
उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे।
उनले भने, ‘४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन। यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’
उनले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए। उनले भने, निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन् । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रतिक्रिया दिनुहोस्