
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन्। ।
प्रकरणमा इन्द्रजितका छोरा निरज राई र बादलका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसेकको छ।
यसअघि प्रहरीले ललितपुर महानगरपालिका-२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो।
राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक-पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरी स्रोतको भनाइ छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।
यस प्रकरणमा पूर्व गृहमन्त्री बादल र पुर्वमन्त्री रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधि सभाको बैठकमै कुरा उठेको थियो । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधि सभा बैठकमा कुरा उठाउँदै छानबिनको माग गरेका थिए । त्यसप्रति एमाले प्रमुख सचेतक पदम गिरीले नियमापत्ती जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्