
काठमाडौं- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताएका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए।
उनले भने, ‘अहिले कहिलेकाँही म देख्छु भने सबैभन्दा भ्रष्ट तत्वहरु भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ। सबभन्दा भ्रष्टहरु नै। त्यसकारण हामीले साँचो अर्थमा सुशासन। तपाईहरुले हेर्नु भएको छ–हाम्रो निर्वाचन घोषणा पत्रमा हामी एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुको छानवीन सुरु गर्नेछौं भनेर भनेका छौं। र, म तपाईहरुलाई भन्न चाहन्छु–छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ।
अहिले सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरुलाई छानवीन गर्नका लागि तत्काल पहलकदमी लिने बताए।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्