images
images
  • बसाइँसराइले गाउँका आकर्षक घर रित्ता

    गलेश्वर- हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल ।उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।

    यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् ।

    फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ । केटाकेटीको कोलाहल सुनिन छोडेको धेरै भयो ।गाउँको सौन्दर्यलाई चटक्कै बिर्सेर घरमुली बसाइँ सरेपछि अहिले जिल्लाका अरु गाउँझै वाइन्दाफाँटको गाउँ पनि एक्लिएको छ ।

    गाउँका घरधुरी घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् । गाउँमा ढुङ्गेघर अब हराउँदै गएका छन्, गाउँका मान्छे हराएझैँ ।

    ढुङ्गाले छाएका घर भत्काएरजस्ता पाता र कङ्क्रिटका घर निर्माण गरिए पनि ती घरमा बस्ने मानिस भने गाउँबाट पातलिँदै जान थालेका मालिका गाउँपालिका–७ का रामबहादुर पुनले बताए ।

    ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ ।

    कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उहाँको भनाइ रहेको छ ।

    “डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे ।ती घरमा बस्ने मान्छेहरु पनि हुन्थे । तर, अहिले न परम्परागत घर बचेँ न नयाँ बनाइएका घरमा मान्छे नै बसे”, पुनले भने, “गाउँमै नबस्ने भए पुख्र्यौली चिनोलाई नासेर किन बनाउनु नयाँ घर ?” पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा परम्परागत रैथाने प्रविधिका घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्थे ।

    उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको तर मान्छे गाउँमा बस्ने चलन घटेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ ।

    सडकको पहुचका कारण ती पुराना परम्परागत घरहरु नासिँदै गएको पाका पुस्ताको बुझाइ छ । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् ।

    सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् ।

    यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पु–याएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्म म्याग्दी जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायतका ठाउँमा गएका छन् ।

    स्थानीय तहका पञ्जीकरण शाखाका अनुसार चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीनसय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ जना बसाइँसराइ गरी अन्यत्र गएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images