
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् ।
जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए ।
देशमा आर्थिक सङ्कटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्धका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको नेपालको भनाई छ ।
उनले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए ।
त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत छलफल भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा गरिने बताए।
उनले अव ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्