
काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्।
सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।
वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन नसकेकोे संघीय संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।
प्रतिक्रिया दिनुहोस्