images
images
  • मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं- सत्ता गठबन्धनको बैठक केहिबेरमा बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए ।

    महासचिव गुरुङले भने, “यो नेताहरुबीच छलफल गरेर टुङ्ग्याउने कुरा भयो ।” सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ–आफ्नै दाबी गरेको सन्दर्भमा उनले भने, “माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो ।”

    यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा– २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताए ।

    नेता झाले भने, “उपनिर्वाचनमा भाग लिने तयारी गरौँ भन्ने नै छ । जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि ग¥यौँ । दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो । आज पनि गठबन्धनको बैठक छ ।”

    माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images