
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।
आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने जोड दिए ।
यस्तै, अध्यक्ष ओलीले निर्वाचित भएर आएका सबै सांसदलाई बधाई दिएका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले भने, संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनबाट निर्वाचित भएर आउनुभएका सबै सांसदलाई बधाई दिन्छु।
सांसदलाई बधाई दिँदै ओलीले भने, यो परिस्थिति यत्तिकै आएको छैन। धेरै बलिदानीपछि आएको हो। यो परिस्थिति ल्याउन ज्यान आहुँति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्छु।
अध्यक्ष ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’
संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्