
काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसमा पनि अहंकार बढेको बताएका छन्।
नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भी र अहंकारीलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको बताए । तत्कालीन नेकपा एमालेलाई सम्झिँदै ओलीको अहंकारका कारण दुई तिहाईको कम्युनिष्ट पार्टी र सरकार पतन भएको स्मरण गराउँदै कांग्रेसलाई पनि अहंकार त्याग्न अनुरोध गरेका छन्।
राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखा परेको नेपालले बताए । यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।उनले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए । आउँदो मंसिर पहिलो साता हुने गरी आम निर्वाचनको घोषणा हुने उनको भनाइ छ ।
नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’
समानुपातिकमा २० देखि २५ सिट कसैले रोक्न सक्दैन
अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताए ।
उनले भने, ‘हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौं थाहा छ ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन ।’
नेता नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन आग्रह गरे । ‘सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्