
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा डा. भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।
हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा भएको भेटघाटमा बाबुरामले सो प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् ।
माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले जानकारी दिए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।
यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् । पार्टी एकता वा पार्टीमै आउन नसकेपछि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने प्रस्ताव बाबुराम भट्टराईले राख्दै आएका छन् ।
प्रचण्डले भने सबै कम्युनिस्ट एक ठाउँमा रहनु पर्छ भन्दै जसपाबाट कारवाही नहुँदै बाबुरामलाई माओवादी केन्द्रमै आउन आग्रह गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्