
काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा. बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्यमा छन् । डा. भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ ।
नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन् । पार्टीको नेतृत्वमा हिसिला यमी, गंगा श्रेष्ठको नाम पनि चर्चामा आइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘बाबुरामजी अध्यक्ष बन्ने इच्छा नदेखाएपछि पूर्व नयाँ शक्तिबाटै कसैले नेतृत्व गर्नुहुन्छ ।’
बाबुराम अध्यक्ष नबनेपछि हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंहलगायतले दाबी गर्न सक्ने उनको भनाइ छ ।
बाबुराम निकट एक नेताले भने, ‘बाबुरामजी आफू अध्यक्ष नबन्ने भएपछि महेन्द्र वा राजकिशोरमध्ये एक जना कसैलाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्छ ।’ महेन्द्र राय यादव सुरुदेखि बाबुराम भट्टराईलाई साथ दिँदै आएका छन् ।
नयाँ पार्टी बनाउने कि अरु कुनै उपाय खोज्ने भन्ने विषयमा उनीहरुको बीचमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।
जसपामा बाबुराम पक्षका नेता प्रशान्त सिंह भन्छन्, ‘अहिले हरेक कुराको गृहकार्य भइरहेको छ । पार्टी पुनर्गठनदेखि लिएर नयाँ पार्टी बनाउनेसम्मको गृहकार्य भइरहेको छ ।’ नयाँ पार्टी नै बन्ने तय भइसकेपछि मात्र त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रवेश गरिने उनले बताए ।
नयाँ पार्टीमा डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसकेका छन् । उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा छन् ।
प्रतिक्रिया दिनुहोस्