
काठमाडौं- शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् ।
उनले फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘काठमाडौंमा बस्ने मान्छेले फोहोर गर्दछौं । बञ्चरे डाँडामा सम्पूर्ण फोहोरका लागि ल्याण्डफिल साइट बनाएका छौँ । फोहोर फालेका छौँ, त्योसँग निस्किने सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ । हामीले ट्वाइलेटहरू ढलमा मिसाएका छौँ । ढल खोलामा मिसाएका छौँ । त्यसको ट्रिटमेण्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ । यो हामी सुल्टो बाटो हिँडेको होइन, तरपनि यो हाम्रो बाध्यता हो । हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौं पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’
मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस्