images
images
  • एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपस्थित

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।

    अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

    तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलले बताइन् । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।

    गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

    प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान नभन्न कांग्रेसको आग्रह:
    प्रधानमन्त्री देउवा  समितिको बैठकमा उपस्थित नभएर बैठकको अपमान गरेको टिप्पणी भएपछि नेपाली कांग्रेसका सांसदहरूले बचाऊ गरेका छन ।

    प्रधानमन्त्री उपस्थित नभए पछि सभापति पवित्रा निरौलाललगायतले समितिको ‘अपमान’ गरेको अभिव्यक्ति दिएपछि कांग्रेस सांसदहरू बचाउमा उत्रेका हुन् । प्रधानमन्त्री देउवालाई अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले आज बोलाएको थियो ।

    सभापति पवित्रा खरेलले बैठकमा उपस्थिति नभए प्रधानमन्त्री देउवाले अपमान गरेको भन्ने टिप्पणी गरे लगत्तै कांग्रेस सचेतक पुष्पा भुसालले अपमान भन्ने शब्द उचित नभएको भन्दै बचाउ गरेकी हुन् ।

    ‘हामीले बोलाउँदा उहाँ (प्रधानमन्त्री) आउनुपर्छ, तर प्रधानमन्त्रीको समय के भयो, त्यस आधारमा बुझ्नुपर्छ, अपमान नै भन्ने शब्द प्रयोग गर्नु हुन्न’ भुसालको आग्रह थियो ।

    काग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने भन्दै बचाउ गरेका छन् ।

    सभापति खरेलले बैठकको दुई घन्टा अघि अर्थात् बिहान ८ बजे मात्रै उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएलगत्तै कांग्रेस सांसदहरू बचाउमा लागेका हुन् ।

    ‘हिजो दिनभरी फोनमा सम्पर्क गरियो । तर, आज बिहान ८ बजे उपस्थित नहुने भनेर खबर आयो, यस्तो कार्यले समितिको अपमान गरेको महसुस गरेको छु, यो अपमान हो भन्ने मलाई लाग्छ,’ सभापति खरेलले भनिन् ।

    अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी०का बारेमा जानकारी लिन समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो । यसअघि सोबारेमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएलगत्तै समितिले आज प्रधानमन्त्रीलाई बोलाएको थियो ।

    पराराष्ट्र मन्त्री खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको तथा प्रधानसेनापति शर्माले एसपीपी नेपालको हितमा नभएको भन्दै हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images