
काठमाडौं- सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक जना नायब सुब्बा स्तरका कर्मचारीले करिब चार वर्षको जागिर अविधमा सवा ६ करोड रुपैयाँ कमाएको खुलेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले पाँच वर्षको जागिर अवधिमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको हो।
अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।
वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।
उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।
बर्षमानदेखि महरासम्म माओवादी केन्द्रका चार जना मन्त्रीका स्वकिय सचिव :
अख्तियारका अनुसार निज नायब सुब्बा भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ । उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा कार्यरत रहे पनि जागिरको धेरै समय मन्त्रीको स्वकीय सचिवकै रूपमा सिंहदरबारमा नै बिताएका थिए । माओवादी केन्द्रका मन्त्रीहरूले उनलाई पालैपालो काजमा ल्याएर स्वकीय सचिव बनाएका थिए । त्यही समय नै भण्डारीका लागि अकूत सम्पति आर्जन गर्ने सुनौलो अवसर बनेको थियो ।
मन्त्रीको स्वकीय सचिव रहँदा उनले विभिन्न बिचौलिया र तस्करसँग साँठगाँठ राखी अकूत सम्पति कुम्ल्याउन सफल भएको बताइएको छ । साथै उनले ठेक्का पट्टामा समेत मन्त्रीको अधिकारको दुरुपयोग गरी सेटिङ गर्ने गरेका थिए ।
माओवादी केन्द्रका चार मन्त्रीको स्वकीय सचिव रहँदा अकुत सम्पति आर्जन गर्न सफल भएपछि ती नायब सुब्बाले जागिर खाएको चार वर्षमा नै राजीनामा दिएर व्यापार गर्न थालेका थिए । मन्त्रीको स्वकीय सचिव हुँदा आर्जन गरेको अवैध सम्पतिले उनले ललितपुर कुपण्डोलमा विथल्याब खोलेर मेडिकल व्यापार गर्दै आइरहेका थिए । उनको ठूलाठूला व्यापारीसँग समेत कनेक्सन रहेको बताइएको छ ।
अख्तियारको अनुसन्धानअनुसार सुुुब्बा भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपाय अपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा भण्डारी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री रहेका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।
को हुन् भण्डारी ?
विकास समिति अन्तर्गतको सरकारी सेवामा वरिष्ठ व्यवस्थापन सहायक (पाचौँ तह) पदमा जागिर गर्दा गर्दै उनले करिब ४० करोडको ब्यापार शुरु गरेको खुलेको छ। स्रोतका अनुसार पहुँचका भरमा जागिर खाएका भण्डारीले बिध म्यानेजमेन्ट प्रालि नामक कम्पनी खोलेर ल्याव, गाडी खरिद, कोरोना परिक्षण किटको ब्यापार सुरु गरे। त्यसपछि उनले जागिर छोडे।
गुल्मीको मालिका गाउँपालिका-५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले उपलब्ध गराएको सम्पत्ति विवरण अनुसार २०७१ माघ २२ गतेसम्म भण्डारीले बुबाको नाममा १ रोपनी बारी, २ रोपनी खरबारी र ३ रोपनी खेत तथा हजुरबुबाको नाममा १४ रोपनी पुर्ख्यौली बारी रहेको विवरण बुझाएका छन्। सबै परिवारको जम्मा गर्दा उनको परिवारसँग २० रोपनी १२ आना जग्गा रहेको देखिन्छ।
त्यस्तै पुर्ख्यौली सम्पत्तिकै रुपमा ३ तोला सुन, ५ तोला चाँदी र ३ लाख नगद रहेको विवरणमा उल्लेख रहेको मन्त्रालयबाट प्राप्त विवरणमा उल्खेख छ। त्यो बेलासम्म भिमकान्तको नाममा विभिन्न बैंक खातामा २ लाख ४५ हजार र श्रीमती विमलाको नाममा १७ हजार थप नगद भएको समेत देखिन्छ। त्यसका साथै ३६ हजारको डेस्कटप, ५६ हजारको ल्यापटप र ३ थान मोवाइलसेट समेत रहेको विवरण उनले बुझाएकी छन्। नगद र जिन्सी हिसाव गर्दा २०७१ को माघ २२ गतेको मूल्य अनुसार बढीमा ५ लाख ४० हजार बराबर रहेको उनीहरूको आर्थिक हैसियत त्यस यताको ५ वर्षमा भने एकाएक करोडौंमा पुगेको छ।
उनी उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा काजमा रहेका बेला विश्वमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लियो। त्यसपछि उनी भाइरसको एण्टीबडी परिक्षण गर्ने आरडीटी किट बेच्ने ब्यापारीको रुपमा एकाएक देखा परेका थिए। कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुपको ठेक्का प्रकृयामा अनियमितता र कमसल सामग्री ल्याएको भनेर बाहिरिए लगत्तै सरकारसँगको ब्यापारमा उनी जोडिएको देखिन्छ।
सरकारी जागिरबाट अप्रत्यासित रुपमा ब्यापारीको रुपमा देखा परेकाउनले स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखासँग १९ वैशाख २०७७ मा शुरुमै ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिद सम्झौता गरेका थिए। त्यसपछि पटक पटक गरेर भण्डारीको स्वामित्व रहेको बिध ल्याबले चीनबाट २२ करोड ८५ लाख ६१ हजार ५६० को आरडीटी किट मात्रै खरिद गरेर सरकारलाई बिक्री गरेको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ। बिध म्यानेजमेण्टका सञ्चालक भीमकान्त भण्डारी र दिपेश न्यौपाने कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ।
सरकारी कर्मचारीले ब्यापार व्यवसाय गर्न नपाउने कानुन भएपनि कानुनको उल्लंघन गर्दै उनले सोही बेला ल्याब सुरु गरे। कर्मचारी भएकै कारण उनी ल्यावमा बिके भण्डारीको नामबाट चिनिन्थ्ये। २४ जेठ २०७६ मा दर्ता भएको यो कम्पनीको सेयर देशमा कोरोना भाइरस महामारी शुरु भएपछि भण्डारीले गएको ०७७ चैत महिनामा खरिद गरेका थिए। कोरोना भाइरसको महामारी शुरु भएपछि स्वास्थ्य सामग्री खरिदको ठेक्का पाएको ओम्नी समूह चौतर्फी आलोचनाका कारण बाहिरिएलगत्तै बिध म्यानेजमेण्ट प्रालि मन्त्रालयमा भित्रिएको हो।
स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई स्वास्थ्य सेवा विभागले शुरुमा १९ वैशाख २०७७ मा ५ करोड ६५ लाखको आरडीटी किट खरीदको जिम्मा दिएको थियो। लगत्तै ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप ९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पाएको बिधले ३ असार २०७७ मा ७ करोड ७५ लाख ३६ हजार ५६० को अर्को ठेक्का पाएको थियो।
कम्पनी रजिष्टारको कार्यालयबाट मन्त्रीको सचिवालयमा रहेका सरकारी कर्मचारीका नाममा २४ जेठ २०७६ दर्ता भएर एक्कासी देखा परेको कम्पनीले आरडीटी किट खरीद गर्न तीन महिनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल २२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पाएको थियो। सो कम्पनीले चीनको विवादित मानिने कम्पनी बेइजिङ लिपु मेडिकल टेक्नोलोजीले उत्पादन गरेका किट गुणस्तर जाँचबेगर स्वास्थ्य मन्त्रालयले किनेको विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका कर्मचारीहरू बताउथ्ये।
भण्डारी आफूलाई बिध म्यानेजमेण्ट र बायोमेट्रिक्स प्रालि नामको कम्पनीको निर्देशकका रुपमा परिचय गराउछन्। स्थानीय विकासमन्त्रालय, अर्थमन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए। कम्पनी दर्तादेखि आरडीटी किटको ब्यापार गर्दासम्म उर्जामन्त्रीको सचिवलायमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए। तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगइ तालुक अड्डामा नै बसे। भण्डारीले तलब भने २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाटै बुझे।
प्रतिक्रिया दिनुहोस्