
काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गरेका छन्।
गैरआवासीय नेपाली संघ द्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न आग्रह गरे।
उनले आउँदो वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु ५ करोडबाट घटाएर रु २ करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउन लागेको जनाए।
उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय भै सकेको पनि जनाए।
प्रधानमन्त्री देउवाले नेपाल सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक व्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए। उनले संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह पनि गरे।
प्रतिक्रिया दिनुहोस्