डा. पुकारचन्द्र श्रेष्ठ, प्रत्यारोपण शल्य चिकित्सक, वीर अस्पताल,
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर विपन्न नेपालीको सहारा हो । वीरले नै नेपालमा मिर्गौला प्रत्यारोपणको पहल सुरु गरेको हो । मेरो नेतृत्वमा ००८ देखि ०१२ सम्म निरन्तर प्रत्यारोपण भएको थियो । म भक्तपुर सरुवा भएपछि वीरमा नगण्य मात्रामा प्रत्यारोपण जारी थियो, अहिले ठप्प भएको छ । एक वर्षअघि मलाई फेरि यहाँ ल्याइयो । मैले भनेको छु– वीरमा प्रत्यारोपण भएमा विपन्न जनतालाई सुबिस्ता हुन्छ । तर, दुर्भाग्य, डेढ वर्षदेखि यहाँ प्रत्यारोपण सेवा अवरुद्ध छ ।
वीरमा नै डायलाइसिस गर्न बिरामी हरेक दिन आउँछन् । वीरमा अप्रेसन थिएटर पनि छ, प्रत्यारोपण गर्छौँ भन्ने हामी चिकित्सक पनि छौँ । तर, प्रत्यारोपणको अनुमति पाएका छैनौँ । हामी डाक्टरले काम पाएका छैनौँ, मिर्गौलाका बिरामी प्रत्यारोपणका लागि विभिन्न अस्पताल धाउन बाध्य छन् । यो बडो विडम्बना छ ।
म कामविहीन भएको छु, हाजिर गरेर, चिया खाएर घर फर्कन बाध्य छु । उता बिरामीले दुःख पाए, लौन प्रत्यारोपण सुरु गरौँ भनेर हरेक साता अस्पतालको प्रशासनलाई अनुरोध गरेको छु । स्वास्थ्य मन्त्रालयमा पनि पटक–पटक छलफल भएको छ । तर, प्रत्यारोपणको अनुमति मिलेको छैन । सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीलाई सरकारले दिने अनुदान प्रत्यारोपणबापत अस्पतालमा आइपुग्छ । यसरी मिर्गौला प्रत्यारोपणबापत वर्षमा चार करोड रुपैयाँ अस्पताललाई आम्दानी गराउन सकिन्छ । यो कार्ययोजना मैले अस्पताल र मन्त्रालयलाई पनि दिएको छु, तर सुनुवाइ भएको छैन ।
वीर अस्पतालमा नदिने भए ट्रमा सेन्टरको अपरेसन थिएटर मागेको थिएँ । ट्रमामा प्रत्यारोपण गर्नु झन् वैज्ञानिक हो, दुर्घटनामा परेर ब्रेनडेथ भएकाहरूको मिर्गौला प्रत्यारोपण गर्ने प्रणाली विकास गर्न सकिन्छ । त्यो पनि मैले शनिबार मात्र मागेको हुँ । त्यो दिन ट्रमामा खाली हुन्छ भनेर, तर त्यो पनि सम्भव भएन । मानव अंग प्रत्यारोपणमा रहँदा वर्षमा दुई सयभन्दा बढी प्रत्यारोपण गर्दै आएको थिएँ, अहिले त्यहाँ डेढ वर्षसम्म जम्मा २५ वटा मात्रै प्रत्यारोपण भएका छन् ।
यही वेला वीरमा डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । टिचिङमा पनि गति बढेको छैन । सरकारी अस्पतालहरूले प्रत्यारोपणको दर घटाउँदा विपन्न नागरिक मर्कामा छन् । अहिले आधाभन्दा धेरै बिरामी उपचारका लागि भारत गइरहेका छन्, विपन्न नागरिक निजीमा उपचार गर्न नसकेर मरिरहेका छन् । हरेक दिन बिरामी आउँछन्, बचाइदिनोस् डाक्टर साव भन्छन्, तर मेरा हात बाँधिएका छन् । नयाँ पत्रिका दैनिकबाट
प्रकाशित मिति २०७८ जेठ १३ गते बिहिबार ०२:३७