• नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा अब डेटा शुल्क नलाग्ने

    काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा अब डेटा शुल्क नलाग्ने भएको छ । टेलिकमले आफ्नो नेटवर्कबाट नागरिक एप प्रयोग गर्दा शुल्क नलाग्ने गरी सिस्टममा एकीकृत गरेको हो ।

    नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउने उद्देश्यका साथ सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।

    तर नेपाल टेलिकमले परिपत्र जारी हुनु अगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

    उनका अनुसार टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको हो । तर, एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्