• बढ्यो जोखिम गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा

    होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पताल भर्ना हुन थालेका छन्। कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आए पनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमति ढिलो गरी अस्पतालमा पुग्दा ज्यान गुमाउनेको संख्या बढेपछि एक सातायता बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिको संख्या बढेको छ। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएकोमा हाइ फ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ।

    म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएपछि र गम्भीर खालका लक्षण भएका संक्रमितलाई अस्पतालले उपचारका लागि आउन अनुरोध गरेको थियो। अस्पतालमा भर्ना भएका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिण्डर प्रयोग गर्ने र त्यसले समेत सुधार नभएपछि अस्पतालमा आउँदा हाइ फ्लो अक्सिजनका दिनुपर्ने अवस्थाका छन् भने केही सचेत भएर समयमै आएकाले नर्मल अक्सिजन दिएपनि हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ। त्यस्तै कोरोना संक्रमति निमोनिया लिएर आउन थालेका छन्।

    अस्पतालका मेडिकल कोअर्डिनेटर डा।नवराज बस्ताकोटीले सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको बताए। ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमति सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ,’ डा।बस्ताकोटीले भने। उनले कोरोना संक्रमतिले घरमै जोखिम मोल्न नहुने बताए। लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असज महसुश हुदाँहुदै पनि घरमा बस्न नहुने डा। बस्ताकोटीको भनाइ छ। अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन्।

    कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा। जितेन्द्र कँडेलले बताए।

    ‘उपचारका लागि हामी तयारी अवस्थामै छौं, ‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला,’ डा। बस्ताकोटीले भने। सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कमजोर हुने भएकाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारले समेत बिरामी सचेत भएकाले भर्ना हुने आउने संख्या बढेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्वाब दिएका सहित ९ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्यांकमा देखिएको छ।

    अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा समस्या

    बेनी नगरपालिकाका एक कोरोना संक्रमति पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भयो। घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको बुधबार मृत्यु भयो। श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्र्रमित बेनपा–८ का एक निर्माण व्यवसायीको पनि अस्पतालमै ज्यान गयो। दुवैको अक्सिजनको स्तर ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो। पछिल्लो एक सातायता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ।

    कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा। जितेन्द्र कँडेलले बताए।

    ‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भए पनि धेरैलाई जानकारी छैन,’ प्रमुख डा। कँडेलले भने। अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्र्चाज गरिएको डा। कँडेलको भनाइ छ। शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा। कँडेलको भनाइ छ।

    कोरानौक कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरूमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा। कँडेलको भनाई छ। होम आइसोलेसनमा बसिरहेका बिरामीहरूको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा।कँडेलको सुझाव छ। घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासी श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ।

    लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, सास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाइ छ। म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमतिमा अधिकांश शरीरमा अक्सिजनको अभाव भएकै कारण भएकोको स्वास्थ्य कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्