images
images
images
  • ओलम्पिकमा नेपाली : जसले पाए मैदानमै नपुगी स्वर्णपदक

    काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक प्रतियोगिता जापानको टोक्योमा चलिरहेको छ । जुलाई २३ देखि शुरु भएको टोक्यो ओलम्पिक अगस्ट ८ सम्म चल्नेछ । प्रतियोगितामा नेपालका पाँचजना खेलाडी सहभागी छन् । जसमध्ये दुई खेलाडीको चुनौती पहिलो चरणबाटै सकिइसकेको छ ।

    अन्तराष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी०का अनुसार नेपालले ओलम्पिक कमिटीमा देशको रुपमा मान्यता पाएको सन् १९६३ को जनवरी १ बाट मात्रै हो । नेपालको पहिलो औैपचारिक ओलम्पिक यात्रा सदस्यता पाएको अर्को वर्ष अर्थात् सन् १९६४ मा सम्भव भएको थियो । जुन प्रतियोगिता जापानको राजधानी टोक्योमै भएको थियो ।

    ओलम्पिकमा नेपालले सहभागिता जनाएको ५७ वर्ष पुगेको छ । तर दुःखको कुरा नेपालले अहिलेसम्म ओलम्पिकमा खेलेर कुनै पनि पदक भने ल्याउन सकेको छैन । नेपालको सहभागिताको उपलब्धि भनेको ‘राष्ट्रिय कीर्तिमानमा सुधार’मै सीमित छ ।

    नेपाली खेलाडीले पदक नल्याएपनि ओलम्पिकमा नेपालीले भने धेरै अगाडि नै पदक पाएका थिए । त्यो पनि स्वर्णपदक । र, स्वर्ण पदक पाउने नेपाली थिए तेजवीर बुढा ।

    प्रतिस्पर्धै नगरी स्वर्ण जित्ने भाग्यमानी

    सन् १९२४ मा फ्रान्सको चामनीमा भएको गृष्मकालीन ९विन्टर० ओलम्पिकमा ओलपिकका स्वर्ण बिजेता हुन् तेजवीर बुढा । रोचक कुरा त के छ भने उनी ओलम्पिकस्थलमै नपुगी स्वर्ण पदक बिजेता भएका थिए । कारण हो( सगरमाथाको आरोहण प्रयास ।

    सन् १९२२ मा बेलायतीले आयोजना गरेको सगरमाथा आरोहण दलका एक महत्वपूर्ण सदस्य थिए बुढा । नेपालमा राणा शासनकालको समय भएकाले नेपालको तर्फबाट सगरमाथा चढ्न प्रतिबन्ध थियो । आरोहीहरू तिब्बतबाटै सगरमाथा आरोहण गर्थे । सोही आरोहणका क्रममा बेलायती आरोहण दलले सबैभन्दा पहिलो प्रयास सन् १९२१ मा गरेको थियो ।

    तर, उक्त आरोहण दल सगरमाथाको ७ हजार मिटरसम्म मात्रै पुग्न सफल भएको थियो । सिक्किम हुँदै पुगेको दलको नेतृत्व क्यानडाका सर्वे अधिकारी ओलिभर ह्विलरले गरेका थिए । सन् १९२२ मा फेरि अर्को आरोण दल बन्यो । आरोहणको नेतृत्व बेलायती सेनाका ब्रिगेडियर चार्ल्स जी। ब्रुसले गरेका थिए । ब्रुस नेतृत्वको आरोहण दलका महत्वपूर्ण सदस्य थिए तेजवीर ।

    बेलायती गोर्खा सैनिक पृष्ठभूमिले जुराएको अवसर

    भारतमा बेलायती शासन भएको समयमा तेजवीर तत्कालीन ब्रिटिस इन्डिया सेनामा काम गर्थे । उनी लेसनायकसम्म भएका थिए । तेजवीरको टोलीले सन् १९२२ मा पहिलोपटक आठ हजार मिटरभन्दा माथिको यात्रा गर्न सफल भएको थियो ।

    टोलीले सगरमाथाको शिखर चुम्न नसकेपनि आठ हजार मिटरमाथी मानव पाइला पुगेको त्यो पहिलोपटक थियो । आठ हजार मिटरमाथी पाइला पुर्याउने उनी पहिलो नेपाली पनि भए ।

    सगरमाथा मापन गर्ने प्रथम नेपाली टोलीका सर्वेयर, दुइपटकका सगरमाथा आरोही र सगरमाथाको आरोहण इतिहास लेखनमा सक्रिय खिमलाल गौतमका अनुसार तेजवीर नेपाली हिमाली क्षेत्रका एक महान आरोही हुन् । उनी भन्छन्, ‘तर, हामीले तेजवीरलाई धेरै ठाउँमा उल्लेख भएको पाउँदैनौँ । यो बिडम्बनापूर्ण छ ।’

    तेजवीर तेजीला गोर्खा सैनिक पृष्ठभूमिका हिमाल आरोही भएको दि गोर्खा ब्रिगेड असोसिएसनले आफ्नो आधिकारिक वेबसाइट गोर्खाबिडिई डटकममा पनि उल्लेख गरेको छ । वेबसाइटले सन् १९२१(२२ ताका तेजबिर ‘पायोनियर’मध्येको एक आरोही भनेर उनको व्याख्या गरेको छ ।

    काठमाडौं पोस्ट दैनिकमा केहि वर्ष अगाडि एक आलेख लेख्दै सोमेस बर्माले तेजवीरहरुको टोली ८ हजार २ सय ३० मिटर उचाइमा पुगेको उल्लेख गरेका छन् । त्यो त्यसबेलासम्म कुनै पनि आरोही पुगेको सर्वोच्च उचाइ भएकाले सबैलाई ओलम्पिकमा स्वर्ण पदक दिइएको थियो । सोमेसको आलेखअनुसार आधुनिक ओलम्पिकका पिता भनिने पियरे दे काउबेन्तिनको प्रस्तावमा उक्त पदक दिइएको हो । सन् १९२४ मा पहिलोपटक भएको विन्टर ओलपिम्पकमा ‘अल्पाइनिजम’ शिर्षकअन्तर्गत सबैभन्दा धेरै उचाइमा पुग्नेलाई पदक दिने निर्णयअनुसार तेजवीरले पनि पदक पाएका थिए ।

    सन् १९२४ को फेब्रुअरीमा १२ बेलायती र एक अस्ट्रेलियालीलाई मात्रै दिइएको पदकपछि सहभागी अन्य आठ जनालाई पनि दिइएको थियो । जसमा नेपालका तेजविर र भारत तथा तिब्बतका सात हिमाली भरियाहरु थिए । तेजवीरले पाएको पदक बेलायतको विन्चेस्टरमा रहेको गोर्खा संग्राहालयमा राखिएको सोमेसले उल्लेख गरेका छन् ।

    तेजवीरको खोजी नभएकोमा उपराष्ट्रपतिको चिन्ता

    ओलम्पिकमा स्वर्ण पदक पाएका बहादुर आरोही तेजीर नेपाली परिदृष्यमा गुमनामजस्तै छन् । उनको तस्बिरसमेत सार्वजनिक भएको छैन । उनको ठेगाना नेपालको कुन ठाँउ हो भन्ने पनि सार्वजनिक भएको छैन । यत्ति चाहिँ निश्चित छ कि उनी गोर्खा सैनिकको छैटौँ गोर्खा राइफल्सको दोस्रो बटालियमा आबद्ध नेपाली थिए । यो कुरामा अनुसन्धानकर्ताहरु पनि सहमत छन् ।

    तेजवीरको बृहत् तर गुमनाम व्यक्तित्वको चिन्ता आम खेलप्रेमीलाई त छ नै । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि रहेछ । उनले गत महिना भएको ओलम्पिक डेको दिन नेपाल ओलपिम्क कमिटिको कार्यक्रममा भने, ‘इतिहासले भन्छ, ‘सन् १९२४ मा ब्रिटिस सेनाको तर्फबाट सगरमाथा आरोहणका लागि बुढा (तेजवीर)लाई शीतकालीन ओलम्पिकमा स्वर्ण पदक दिइएको थियो । यसबारेमा पनि पूरा सोधपुछ भएर सत्यतथ्य बाहिर आओस् ।’

    प्रतिक्रिया दिनुहोस्