काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम फेर्ने तयारी गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया अघि बढेसँगै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ राख्ने सहमति बनेको छ ।
‘समाजवादी केन्द्र’, ‘समाजवादी एकता केन्द्र’ र ‘वैज्ञानिक समाजवादी’ जस्ता नामहरू पनि विकल्पका रूपमा रहेका छन् ।
नयाँ पार्टीको चुनाव चिन्ह कम्युनिस्ट प्रतीक झल्कने खालको रहनेछ ।
सहमतिअनुसार माओवादीले ‘माओवाद’ परित्याग गरी मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने भएको छ ।
संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र रणनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ रहनेछ ।
दुवै पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाहीलाई लिने सहमति गरेका छन् ।
एकता पश्चात् बन्ने महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भएका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दोस्रो वरीयतामा रहने सम्भावना छ ।
संगठनात्मक ढाँचा चुस्त बनाउने वा पुरानै स्वरूपमा राख्ने विषयमा छलफल जारी छ ।
एसका नेता बेदुराम भुसालका अनुसार दुवै पार्टीबीच वैचारिक र सैद्धान्तिक सहमति भइसकेकाले अहिले नेतृत्व र संरचना तय गर्ने अन्तिम छलफल भइरहेको छ ।
माओवादी महासचिव देव गुरुङले भने एकता प्रक्रियामा अझै टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।
वार्ता संयोजक रेखा शर्माका अनुसार विशेष महाधिवेशनअघि एकता टुंग्याउने प्रयास भइरहेको छ ।
उनले नेतृत्व रूपान्तरण पनि एकताको महत्वपूर्ण पक्ष हुने बताइन् ।
तर, एसका महासचिव घनश्याम भुसाल भने पुरानै नेतृत्वमा आधारित एकताका विपक्षमा छन् ।
उनका अनुसार पहिले आफ्ना–आफ्ना पार्टी र नेतृत्वको पुनर्गठन गरेर मात्र वाम ध्रुवीकरण सम्भव छ ।
त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले पनि माओवादीसँग एकता गर्ने मौसम नभएको भन्दै भारतबाट नै असहमति जनाएका छन् ।
२०७८ साल भदौ २ मा एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।
२०८१ असारमा भएको महाधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।
२०७९ को आमनिर्वाचनमा उक्त पार्टीले १० सिट जिते पनि राष्ट्रिय पार्टीको मान्यता पाएको थिएन ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्