चितवन। झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपसहित किटानी जाहेरी परेको ललितपुरको कुमारीपाटीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले भरतपुरबाट समातेर जाउलाखेल ल्याएको छ ।
परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ । श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन् ।
गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्