
गण्डकी : लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्।
विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन्।
पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताए।
पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट दर्शनार्थी पुग्ने गरेका उनको भनाइ छ। समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ।
प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जलसतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिए। “जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ”, उनले भने।
विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरीकुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जलसतह घटेको बताए।
“सुरुमा यहाँ पुग्दा देखेको जलसतह अहिले ५० प्रतिशतले घटेको छ”, उनले भने, “कुण्डको उत्तरतर्फबाट हिउँपहिरोका कारण कुण्ड पुरिने जोखिम छभने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ।”
तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनुलगायत कारणले जलसतह घट्दै गएको पथप्रदर्शक घलेले बताए।
लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन्।
कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गए।
यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्