images
images
  • आफूले गल्ती गरेको भन्दै जेलेन्स्कीले माफी मागे : अमेरिका

    वासिङटन : अमेरिकी राष्ट्रपतिको कार्यालय वाइट हाउसमा भएको विवादका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनल्ड ट्रम्पलाई पत्र लेखेर माफी मागेका छन्। ट्रम्पका विशेष दूत स्टिभ विटकफले यस्तो दाबी गरेका हुन्।

    विटकफले सोमबार राति फक्स न्यूजलाई भने, ‘युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिलाई पत्र पठाएका छन्। उनले ओभल अफिसमा भएको सम्पूर्ण घटनाप्रति माफी मागेका छन्।’

    उनले यसलाई महत्त्वपूर्ण कदम बताउँदै अमेरिकी टोली‚ युक्रेनी र युरोपेलीहरूबीच यस विषयमा निकै छलफल भएको जानकारी पनि दिएका छन्।

    यसअघि कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले दुई देशबीचको सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप आफूलाई जेलेन्स्कीबाट पत्र प्राप्त भएको बताएका थिए। ट्रम्पले यो पत्रको प्रशंसा गरेका छन्। अमेरिकाले आफूलाई दिँदै आएको सैन्य सहायता रोकेको केही दिनपछि जेलेन्स्कीलाई यो पत्र पठाएका हुन्।

    वाइट हाउसमा भएको बैठकमा अन क्यामेरामा झगडा भएको विवादलाई जेलेन्स्कीले खेदजनक बताउँदै आफू खनिज सम्झौतामा हस्ताक्षर गरी अमेरिकासँग काम गर्न तयार रहेको स्पष्ट पारेका छन्।

    यी घटनासँगै युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामका लागि साउदी अरेबियामा वार्ता गरिरहेका छन्। एएफपीले युक्रेनी अधिकारीलाई उद्धृत गर्दै युक्रेनले अमेरिकी अधिकारीहरूसँगको वार्तामा रूससँग हवाई र नौसैनिक युद्धविरामको प्रस्ताव पनि गर्नेछ।

    जेलेन्स्कीले सोमबार निकै महत्त्व दिँदै भनेका थिए‚ ‘युक्रेन मात्र शान्ति चाहन्छ। युद्ध जारी रहनुको एकमात्र कारण रूस हो।’

    प्रतिक्रिया दिनुहोस्