images
images
  • राजावादीको प्रदर्शनपछि प्रचण्डको बढ्दो सक्रियता, संसददेखि सडकसम्म काउन्टरको नीति

    २६ फागुन साँझ माधव नेपालसँग भेटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने- त्यत्रो भीषण युद्धमा त डराइएन अहिले डराइन्छ ? राजावादीहरूको २५ फागुनको प्रदर्शनलाई सामान्य अर्थ लगाउने गरी प्रचण्डले टिप्पणी गरे । अर्थात्, उनले आफ्नो मुटु नहल्लिएको पनि भनेका छन् ।

    १० वर्ष सशस्त्र युद्धमा नहल्लिएको मुटु एक दिनको राजावादीको प्रदर्शनले हल्लिन्छ ? भन्ने अर्थमा प्रचण्डले जवाफ दिएका हुन् । राजावादीको २५ फागुनको प्रदर्शनबारे प्रचण्डले जसरी हल्का जवाफ दिन प्रयास गरेका थिए, उनको हाउभाऊ र गतिविधि भने हतास देखिन्छ । यहीबीचमा विपक्षी दलको नेताको हैसियतमा प्रचण्ड संसदमा सम्बोधन गर्दै छन् ।

    अर्थात्, चार दिनयता प्रचण्डमा जुन खाले सक्रियता र अभिव्यक्ति देखिएको छ, त्यसले राजावादीको प्रदर्शनबाट प्रचण्ड दबाबमा रहेको महसुस गर्न सकिन्छ । जस्तो, २६ फागुनको बिहानै खुमलटार निवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक राखे । अनि अघिल्लो दिनको राजावादीको प्रदर्शनको समीक्षा गरे । राजावादी आन्दोलनमा भारतीय भूमिकाको विश्लेषण गरे । राजवादीको प्रदर्शनमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर सार्वजनिकको अर्थबारे पनि बैठकमा विश्लेषण भयो । अर्थात्, भारत पछिल्ला दिनमा नेपालमा के चाहन्छ ? भन्नेमा प्रचण्डको चासो देखिन्छ ।

    प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भएपछि नेपाल भारत सम्बन्ध दूरीमै छ । ओलीलाई भारतले भ्रमणको निम्ता पनि दिएको छैन । सम्बन्धमा सुधार नआएकै बेलामा काठमाडौंमा राजावादीको प्रदर्शन बाक्लो हुने अनि त्यो प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको तस्वीर पनि देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आफ्नै तराई मधेश जागरण अभियानको समीक्षा छोडेर प्रचण्ड राजावादीको प्रदर्शनको समीक्षामा मात्रै लागेनन्, गणतन्त्रवादीको प्रदर्शन गर्ने निर्णय पनि गरेका छन् ।

    माओवादीको उपलव्ध पदाधिकारीको बैठकले काठमाडौं प्रदर्शन गर्ने निर्णय गरेको छ । जसलाई राजावादीका लागि काउन्टर प्रदर्शनका रूपमा व्याख्या गरिएको छ । तर, माओवादीले दिन भने तोकेको छैन । माओवादी एक्लैले प्रदर्शन गर्ने वा समाजवादी मोर्चाको ब्यानरमा संयुक्त प्रदर्शन गर्ने भन्ने टुंगो लागेको छैन । प्रचण्डले बिहान पार्टीमा गणतन्त्रको पक्षमा राजावादीलाई काउन्टर गर्न प्रदर्शन गर्ने निर्णय गराएलगत्तै दिउँसो ४ बजे समाजवादी मोर्चाको बैठक राख्ने निर्णय पनि लिए । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा आबद्ध रहेको मोर्चाको बैठक प्राविधिक समस्याले बसेन । तर, प्रचण्डले साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भने लामो संवाद गरे ।

    शनिबार अर्थात् २४ फागुनमा अचानक तराई मधेश जागरण अभियान स्थगित गरेर काठमाडौं ओर्लिएका प्रचण्ड निरन्तर सक्रिय छन् । २४ फागुनमा रौतहटमा सभा गरेर जागरण अभियान बीचमै अलपत्र पारेर प्रचण्ड किन काठमाडौं आए ? त्यसको प्रस्ट जवाफ माओवादीले दिएको छैन । तर, राजावादीको काठमाडौंमा सक्रियता बढेको र त्यसको काउन्टरका लागि रोकिएको तर्क माओवादी नेताहरूले गरिरहेका छन् । माओवादीको भनाइमा राजावादीको शक्ति बढ्न थालेकोले काउन्टर गरेर मात्रै तराई मधेश जागरण अभियानलाई निरन्तरता दिइनेछ ।

    जागरण अभियान अचानक रोकेर काठमाडौं आउनु र बाक्लो छलफल र सक्रिय भेटले प्रचण्डमा हतास मनस्थितिमा भने देखिन्छन् । प्रचण्डमा राजावादीको आन्दोलनले चिट्चिटाहट बढाएको संकेत पनि मिल्छ । जबकि, त्यस्तो सक्रियता प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएका छैनन् । उनीहरूले राजावादीको प्रदर्शनलाई सामान्य लिएको जस्तो देखिन्छ । र, सार्वजनिक अभिव्यक्तिमा पनि विगतमा झैँ सामान्य जवाफमा सकाएका छन् ।

    तर, प्रचण्डले त्यसलाई बढ्ता गम्भीर रूपमा लिएझैँ देखिने गतिविधि गरिरहेका छन् । पार्टीका आन्तरिक अभियान रोकिनेदेखि मोर्चाको बैठक, नेताहरूसँग भेट अनि काउन्टर प्रदर्शनको तयारीले त्यही संकेत गरेको छ । हुन त, राजावादीको आन्दोलनले प्रचण्डको सरकारविरोधी रणनीतिलाई पनि सहयोग पुर्‍याउँछ । प्रधानमन्त्री केपी ओलीको आलोचना मात्र होइन, सरकार परिवर्तनका लागि प्रचण्ड जसरी कम्मर कसेका छन्, त्यसका लागि राजावादी आन्दोलन सहयोगी हुन सक्ने विश्लेषण हुन थालेको छ । राजावादीको आवरणमा पोखिएको असन्तुष्टिलाई प्रचण्डले ओलीविरुद्ध प्रयोग गर्न सक्ने सम्भावना पनि छ । त्यसको संकेत २६ फागुनको साँझ प्रकट गरेका पनि छन् ।

    प्रचण्डले साँझ भनेका छन्- सरकार मनपरी नियुक्तिमा लागेको छ र जनता फ्रस्टेसनमा छन्, त्यसकारण यसको जिम्मा अहिलेको सरकारले लिनुपर्छ । ओलीसँग काठमाडौंमा भिडिरहेका प्रचण्डले कोशी प्रदेशमा पनि भिडाउन खोजेका छन् । प्रचण्डकै पार्टी कोशी प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गर्ने पक्षमा छ । कोशी प्रदेशसभामा सम्बोधन गर्न ओलीले विराटनगर जानुअघि नै कोशी प्रदेशमा माओवादी केन्द्रसहित अन्य विपक्षी दल बहिष्कारको लाइनमा लागेका छन् । अर्थात्, प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने प्रचण्डको रणनीति देखिन्छ ।

    अघिल्लोपटक प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित नभएको सन्दर्भ निकालेर कोशी प्रदेशका माओवादी सांसदले बहिष्कारको लाइन लिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीदेखि प्रधानमन्त्री ओलीसम्मले विपक्षी नेता र सांसदप्रति तुच्छ शब्द प्रयोग गर्ने गरेको भन्दै विपक्षीहरू विरोधमा देखिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्