
ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न आज पनि वार्ता हुने भएको छ । आन्दोलनरत पक्षले अब कर्चारीस्तरको वार्ता समितिसँग वार्ता नगर्ने भनेपछि आज गृहमन्त्री रमेश लेखकसँग वार्ता गर्न लागिएको हो
यसअघि आइतबार सरकारी पक्ष र आन्दोलनरत पक्षबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो ।
“हिजोको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।
वार्तापछि गृह मन्त्रालयले गएराति एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।
आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको हो । आज गृहमन्त्री लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक(सरु) ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्