काठमाडौं – नेपाली कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको बताएका छन् ।
कीर्तिपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुराना दलहरूमा समस्या रहेको तर, नयाँ उदाएका दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरेका हुन् ।
मिसन ८४, मिसन ८४ को रटान लगाउनुको कुनै अर्थ नभएको पनि थापाले बताए ।
‘हामी अहिले के गरिरहेका छौं ? एउटा चुनाव लड्छौं, जित्छौं । त्यसपछि हामी अर्को चुनावको सपना देख्न थाल्छौं’ थापाले भने, ‘२०८४ छोडिदिनुस् । २०८१/८२/८३/८४ कसले लिन्छ ? नेपाली कांग्रेस जिम्मा लिन चाहन्छ ।’
कांग्रेसले कीर्तिपुरको प्रमुख पदमा उठाएका कृष्णमान डंगोल बेदाग रहेको पनि थापाले दाबी गरे ।
कीर्तिपुरको मेयरका लागि यहि १६ गते मतदान हुँदैछ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले आज दिउँसो काग्रेसले कीर्तिपुरमा चुनावी सभा आयोजना गरेको थियो ।
पछिल्लो समय विकसित राजनीतिका कारण यो चुनावलाई दलहरुले मध्यावधी चुनावको रुपमा लिएका छन् । हेर्दा एउटा मेयरको जित हार देखिए पनि यसले नेपाली राजनीतिमा दिशा निर्देश गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्