images
images
  • ‘बेरोजगारी – Unemployment’ गम्भीर आर्थिक तथा सामाजिक समस्या

    विश्वराज अधिकारीः नेपालीहरू अहिले दुई कारणले गर्दा विदेश पलायन भइरहेका छन्। पहिलो कारण बेरोजगारी हो भने दोस्रो कारण उच्च शिक्षा। Social and economic impacts of unemployment in Nepal – अर्थात् स्वदेशमा रोजगार नभएर तथा उच्च शिक्षाका लागि नेपालीहरू अहिले ठूलो सङ्ख्यामा विदेशतर्फ लागिरहेका छन्। विदेशमा राम्रो रोजगार र उचित उच्च शिक्षा पाउने आशामा प्रत्येक दिन ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश–त्याग गरिरहेका छन्। यस्तो अवस्था आर्थिक मात्र होइन, सामाजिक समस्या पनि हो। र ज्यादै गम्भीर सामाजिक समस्या हो।

    उच्चा शिक्षाका लगि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतर्फ लागिरहेको स्थिति पनि रोजगारसँग नै सम्बन्धित छ। नेपालको शिक्षाले रोजीरोटी पाउन सम्भव नहुने तर विदेशमा प्राप्त शिक्षाले रोजगार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासले ठूलो सङ्ख्यामा नेपालीहरू विदेश पलायन हुन बाध्य पारिरहेको छ। यसरी समग्रमा हेर्दा वर्तमान सन्दर्भमा नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुनुको प्रमुख कारण बेरोजगारी नै हो। नेपालीहरू विदेश पलायन हुनुका अनेक अन्य कारण पनि नभएका होइनन्। अन्य विभिन्न कारणहरूले पनि नेपालीहरूलाई ठूलो सङ्ख्यामा विदेश जान बाध्य पारिरहेको छ, प्रेरित गरिरहेको छ। तर सर्वाधिक महत्वपूर्ण कारण बेरोजगारी नै हो। बेरोजगारी बस्नुपर्ने अवस्थाले उत्पन्न गरेको चरम निराशा हो। गएको पचास वर्षयता नेपालीहरूमा यस्तो ठूलो एवं घातक निराशा देखिएको थिएन।

    Unemployment: A Critical Economic and Social Challenge

    केवल समस्या तेस्र्याएर हुँदैन। समाधन पनि दिनुपर्छ। समाधान दिने मात्र होइन, समाधानको लागि आआफ्नो तर्फबाट हामीले सक्रिय योगदान पनि पुर्याउनुपर्छ। नेपालमा देखिएको अहिलेको यो भयावह बेरोजागारी र त्यसले उत्पन्न गरेको चरम निराशा केवल सरकारको मात्र समस्या होइन। प्रत्येक नागरिकको पनि समस्या हो। सरकार माध्यम मात्र हो। विकासको कर्ता जनता नै हो। त्यसकारण, अर्को किसिमले हेर्दा, यो जनताको समस्या हो।

    बेरोजगारी समस्या समाधान गर्न सङ्घीय सरकारले तत्काल ‘राष्ट्रिय रोजगार नीति’ ल्याउन आवश्यक छ। र त्यो राष्ट्रिय रोजगार नीतिमा कृषि सम्बन्धी विशेष किसिमका योजना तथा कार्यक्रमहरू समाविष्ट गरेर तिनको तत्काल कार्यान्वयन आवश्यक छ।

    कृषि उत्पादकत्वमा वृद्धि गरेर कृषिलाई प्रमुख रोजगारको क्षेत्र तुल्याउन र यस क्षेत्रमा तत्काल लाखौंलाई रोजगार उपलब्ध गराउन सरकारले अनुदान (Subsidy) दिन आश्वयक छ। पशु पालन, फलफूल एवं तरकारी खेती, अन्डा, मासु एवं माछा उत्पादनजस्ता क्षेत्रमा सरकारले कृषक वा उत्पादकहरूलाई अनुदान दिएर भए पनि सहयोग गर्न आवश्यक छ। उत्पादन क्षेत्रमा सक्रिय भएर लाग्न उनीहरूलाई उत्प्रेरित गर्न आवश्यक छ। कृषि क्षेत्रलाई बढी उत्पादन र रोजगारमुखी तुल्याउन सरकारले कृषहरूलाई तत्काल ‘उत्पादन अनुदान’ दिन आवश्यक छ।

    यसैगरी खाद्यान्न उत्पादन वृद्धि गर्न सरकारले निजी एवं साङ्गठिक क्षेत्रहरूलाई आह्वान गर्न आवश्यक छ। प्रोत्साहन गर्न आवश्यक छ। देशमा रोजगार सङ्कट देखियो भनेर यसको समाधानको लागि निजी क्षेत्रलाई विभिन्न किसिमका कार्यक्रमहरू लिएर आउन सरकारले अपील गर्न आवश्यक छ।

    नेपालका कृषकहरूले भारतका कृषकहरूसँग लागत एवं प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर उत्पादन लागत कम गर्न असमर्थ भएकाले नेपाली कृषकहरूलाई सङ्घीय सरकारले संरक्षण प्रदान गर्न उनीहरूलाई अनुदान दिन आवश्यक छ। यसैगरी जुनजुन कुराको उत्पादनमा नेपाली कृषकहरूलाई अनुदान दिइएको हो ती कुराहरू यदि भारत वा अन्य मुलुकबाट आयात गरिएको छ भने नेपाल सरकारले आयात शुल्क (भंसार शुल्क) वृद्धि गर्न आवश्यक छ। हरेक उपभोग्य वस्तु भारतबाट ठूलो परिमाणमा नेपाल आयात गर्ने परिपाटी निरुत्साहित पार्न अति आवश्यक छ। हामीले आफ्नो उत्पादन न्यून पारेर आयातमा अभूतपूर्व वृद्धि गरेका छौं। नेपाललाई भारतको सुरक्षित एवं लाभदायक बजारको रूपमा परिणत गरेका छौं।

    हामीले कृषि उत्पादन वृद्धि गर्ने हो भने निश्चितरूपले रोजगारको स्तर बढाउन सक्छौं। नेपालमा अनेक रोजगार सृजना गर्न सक्छौं। आवश्यक नीति र संरक्षणको अभावमा हाम्रो कृषि क्षेत्र पछाडि परेको हो। रोजगार सृजना तीव्र गतिमा गर्न असफल भएको हो।

    नेपालमा रोजगार वृद्धिका लागि सररकारले गर्नुपर्ने अर्को महत्वपूर्ण कार्य नेपाली युवाहरूलाई ‘स्वरोजगार तालीम’ दिनु हो। यस किसिमको तालीम उपलब्ध गराएर सरकारले युवाहरूलाई आफैंले अनेक किसिमका रोजगार सृजना गर्न सकिन्छ भनी सिकाउनु पर्दछ। नेपालभित्र नै हजारौं किसिमका कार्य गरेर हजारौं किसिमका रोजगारका अवसर सृजना गर्न सकिन्छ। लाखौ मानिसलाई देशभित्रै रोजगार उपलब्ध गराउन सकिन्छ। रोजगारका लागि विदेश जानु नै पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ। यो तथ्य नेपाली युवाहरूलाई सरकारले अवगत गराउन आवश्यक छ।

    स्वरोजगार तालीमको आयोजना सङ्घीय सरकारले गर्नुपर्छ। तर यो कार्य सम्पन्न गर्न प्रान्तीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। स्वरोजगार तालीम उपलब्ध गराउने कार्य यथार्थमा प्रान्तीय सरकारको हो। तर वर्तमान सन्दर्भमा हाम्रो देशका प्रान्तीय सरकारहरू जनतालाई सेवा प्रदान गर्नुभन्दा शासन गर्न र अनेक किसिमका सुविधा लिन सक्रिय रहेकाले प्रान्तीय सरकारबाट कुनै ठूलो सहयोगको अपेक्षा गर्न सकिने स्थिति देखिंदैन। तर सत्य कुरा गर्ने हो भने स्वरोजगार तालीम उपलब्ध गराउने कार्य प्रान्तीय सरकारकै हो।

    स्वरोजगार तालीम लिन युवाहरूलाई आकर्षित एवं अभिप्रेरित गर्न सरकारले केही आर्थिक फाइदा (भत्ता वा भुक्तानी) दिनु प्रभावकारी हुन्छ। आर्थिक लाभ प्राप्त हुने व्यवस्थाबाट उत्प्रेरित भएर हजारौं युवा स्वरोजगार तालीम लिन उत्प्रेरित हुनेछन् भन्ने आशा मात्र होइन, विश्वास नै पनि गर्न सकिन्छ।

    देशका सफल उद्यमी एवं व्यवसायीहरूले युवाहरूलाई स्वरोजगार तालीम दिनु अति उपयोगी हुनेछ। उनीहरूसँग रहेका अनुभव एवं ज्ञानहरू युवाहरूले प्राप्त गरेर आफैंले पनि रोजगार सृजना गर्ने बाटो पहिल्याउन सक्छन्। सफल उद्योगी एवं व्यापारीहरूसँग अनेक किसिमका महत्वपूर्ण ज्ञान एवं जानकारी हुन्छ। देशमा रोजगारको सङ्कट अति गम्भीर किसिमले देखिएको यो अति दुःखद घडीमा युवाहरूलाई रोजगार सृजना गर्ने तरीका सिकाउनु उद्यमी एवं व्यापारीहरूको कर्तव्य मात्र होइन, दायित्व नै हो। जसरी आफ्नो देशमा शत्रु देशले आक्रमण गरेको समयमा शत्रु देशको विरुद्ध युद्ध गर्नु प्रत्येक देशवासीको कर्तव्य हो, त्यसैगरी आफ्नो देशभित्र आर्थिक सङ्कट ( रोजगार सङ्कट) परेको बेला आफ्ना देशवासीहरूलाई स्वरोजगार तालीम दिनु प्रत्येक उद्योगी एवं व्यापारीहरूको कर्तव्य हो, दायित्व हो।

    राष्ट्रिय बेरोजगारीलाई आर्थिक समस्याको रूपमा मात्र हेर्नु ठूलो भूल हो। विदेशमा गएर पनि रोजगार पाउन सकिन्छ भन्ने मान्यता राख्नु झन् ठूलो भूल हो। राष्ट्रिय बेरोजगारी विकराल सामाजिक समस्या हो। राष्ट्रिय बेरोजगारीले गर्दा बाध्य भएर रोजगारको लागि विदेश जानुपर्ने स्थिति उत्पन्न हुन्छ। रोजगारका लागि युवाहरू विदेश जानुको अर्थ स्वदेशमा परिवार विखण्डित हुनु हो। अहिले हाम्रो देशमा रोजगारका लागि युवाहरू विदेश जानुपर्ने बाध्यात्मक स्थिति भएकोले हजारौं परिवार विखण्डित हुन पुगेका छन्।

    परिवार आधुनिक मानव सभ्यताको एउटा ठूलो उपलब्धि हो। परिवार एउटा यस्तो सामाजिक सङ्गठन हो जसले परिवारका हरेक सदस्यलाई आर्थिक र मनोवैज्ञानिकरूपमा सक्षम र स्वस्थ रहन सहयोग गर्दछ। परिवारको अभावमा मानिस स्वस्थ रहेर बाँच्न कठिन हुन्छ। परिवारको अभावमा व्यक्ति अनेक किसिमका स्वास्थ्य–समस्यामा जेलिन पुग्छ। रोगी हुन पुग्छ। परिवार सामाजिक सङ्गठन मात्र होइन, जीवन उपयोगी औषधी पनि हो। तर अहिले यति उपयोगी यो सामाजिक सङ्गठन बेरोजगारको कारण विखण्डित हुन पुगेको छ। प्रभावहीन हुन पुगेको छ। अहिले लाखौंको सङ्ख्यामा नेपालीहरू राष्ट्रिय बेरोजगारले गर्दा परिवारबाट छुट्टिएर बस्नुपर्ने स्थितिमा पुगेका छन्। परिवारबाट विखण्डित हुन पुगेका छन्।

    वैदेशिक रोजगारले ल्याउने सर्वाधिक ठूलो समस्या हो, यौन जीवनमा विचलन। नेपालको सन्दर्भमा त वैदेशिक रोजगारले ठूलो यौन विचलन ल्याएको छ। पति– पत्नी साथै बस्नु र बस्न पाउनु सामाजिक मात्र होइन, शारीरिक अवश्यकता पनि हो। राष्ट्रिय बेरोजगारले गर्दा अहिले लाखौं नेपाली पत्नी एवं पतिहरू छुट्टिएर बस्न बाध्य भएका छन्। यो बाध्यताले गर्दा अनेक किसिमका यौन अपराधहरू सृजना भएका छन्। घटनाहरू घटेका छन्। पति–पत्नीबीच कलहका बीउ उम्रेका छन्। कतिपय पारिवार (पति–पत्नी सम्बन्ध) टुटेका पनि छन्। पति स्वदेशमा पत्नी परदेशमा वा पत्नी स्वदेशमा पति परदेशमा रहेको स्थितिले वा यौन जीवनमा देखिएको विषम परिस्थितिले, लाखौं नेपाली परिवार हरघडी सङ्कट साथमा लिएर बाँच्नुपर्ने अवस्थामा पुगेका छन्।

    राष्ट्रिय बेरोजगारी समस्यालाई सामान्य किसिमको समस्या ठान्नु महाभूल हुनेछ। यो समस्याको तत्काल समाधान खोज्न आवश्यक छ। सङ्घीय र प्रान्तीय सरकारहरूले यो विषयलाई अति गम्भीरतापूर्वक लिन आवश्यक छ। यो समस्याको समाधानको लागि तत्काल प्रभावकारी योजना तथा कार्यक्रम घोषणा गर्न आवश्यक छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images