images
images
  • दुर्गा प्रसाईंको घरबाट ९ वटा मोबाइल सेट र ३ थान ल्यापटप बरामद, किन राखे प्रसाईंले ९/९ वटा मोबाइल ?

    काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंको घरबाट प्रहरीले ३ वटा ल्यापटप र ९ वटा मोबाइल सेट बरामद गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

    त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीले जानकारी दिएको छ ।

    सामान्यताया मानिसहरुले २/३ वटासम्म मोबाइल सेट बोक्ने/राख्ने गरेको पाइन्छ । तर प्रसाईंले भने ९/९ वटा मोबाइल राखेको पाइएपछि प्रहरी अधिकारीहरु नै छक्क परेका छन् । आखिर उनले किन ९/९ वटा मोबाइल फोन चलाए भन्ने प्रश्नले प्रहरीलाई नै हैरान बनाएको छ । यसको उत्तर अहिले प्रहरीले पनि फेला पारेको छैन ।

    विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिन सक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइने छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर गरेर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर सार्वजनिक गरिएका कीर्ते कागजात उनले कसरी बनाए ? वा अरु कसैले पठाएको हो भने कसले पठायो ? कहाँबाट पठायो भन्ने विषय पनि अनुसन्धानका क्रममा खोज्नुपर्ने भएकाले उनको घरमा भएका सबै विद्युतीय सामाग्री बरामद गरिएको प्रहरी स्रोतले बताएको छ ।

    प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।

    प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका छन् ।

    प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ । उनी अहिले प्रहरीको साइबर ब्युरोमा छन् । दुई दिन (२४ घण्टा) सम्म अदालतबाट म्याद नलिएरै अनुसन्धान गर्न सक्ने भएकाले प्रहरीले मंगलबार उनलाई अदालतमा उपस्थित गराएन । उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images