
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण वारे भारती सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएर समाचार छापेकै दिन भारतले नेपाललाई बंगलादेशमा विद्युत निर्यातको अनुमति दिएको छ ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई भोलि शुक्रबार (कात्तिक ३०, २०८१)बाट बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको हो । भारतको अनुमतिसँगै शुक्रबार पौने १ बजेदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ ।
नेपाल, बंगलादेश र भारतबीच असोज १७ गते नै बंगलादेशमा विद्युत निर्यात हुने सम्झौता भएको थियो । भारतले अनुमति दिन ढिलाई गरेपछि नेपालले यो वर्ष विद्युत निर्यात गर्न पाउँदैन कि भन्ने आशंका भइरहेको थियो ।
तर, आज भारतीय सञ्चार माध्यमले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्ताो नदिएका कारण ओली चीन भ्रमणमा जान लागेको र त्याहाँ उनले भारतलाई प्रतिकुल हुने सम्झौता गर्न सक्नेतर्फ औल्याएका थिए । द हिन्दुले छापेको समाचार अनुसार ओली भारतले थप हवाइ रुट नदिंदा पनि रुष्ट भएको उल्लेख गरेको छ । उसले भारतले थप हवाइ रुटको स्वीकृति नदिँदा नयाँ बनेका पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि चल्न नसकेको पनि उल्लेख गरेको छ ।
यस्तो बेलामा भारतले दिएको स्वीकृतिको ठूलो भूराजनीतिक अर्थ रहेको भूराजनीतिका जानकारहरुले बताएका छन् ।
कसरी हुन्छ बंगलादेशमा विद्युत निर्यात ?
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषका अनुसार शुक्रबार मध्याह्न १२:४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने छ । तर, यो याममा एक दिनमात्र निर्यात हुने छ । किनभने नेपालले १५ जुन देखि १५ नोभेम्बरसम्म मात्रै बंगलादेशमा विद्युत निर्यात गर्ने सम्झौता गरेको छ । भोलि नोभेम्बर १५ हो ।
यसअघि भारतको सीईआरसीले अनुमति नदिएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात योजना अनिश्चित बनेको थियो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यात गर्न भारतको सीईआरसीको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म सीईआरसी अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।
त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने उल्लेख छ । ऊर्जामन्त्री दीपक खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छलफल गरेका थिए ।
त्यस क्रममा १५ नोभेम्बरभित्र नेपालबाट बंगलादेश विद्युत् निर्यात अनुमति प्राप्त हुने आश्वासन प्राप्त भएको थियो ।
हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।
नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ ।
मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी भने बंगलादेशी पक्षले तिर्ने सम्झौता छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बेच्ने बिजुलीको भाउ बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ ।
भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनभीभीएनबाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।
नेपालले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । २८ हजार ५०० मेगावाट उत्पादनको रोडम्याप अहिले मन्त्रिपरिषदमा छलफलकै क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्