काठमाडाैं – राष्ट्रिय महिला आयोगले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई महिला हिंसामा दोषी ठहर गरेको छ । आयोगले मिश्र र ढकाल राष्ट्र बैंककै एक उच्चपदस्थ महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न रहेको ठहर गरेको हो ।
प्रकरणका मुख्य अभियुक्त राष्ट्र बैंकका तत्कालीन निर्देशक थानेश्वर आचार्यलाई नेपाल राष्ट्र बैंकले बर्खास्त गरिसकेको छ । आयोगले मिश्र र ढकाललाई दोषी ठहर गर्दै पीडितलाई उनीहरूविरुद्ध कानुनी उपचार खोज्न सुझाव समेत दिएको छ ।
२७ पुस २०८०मा नगरकोटको एक होटेलमा आयोजित कार्यक्रममा तत्कालीन निर्देशक आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहार गरेका थिए । सो दुर्व्यवहारमा डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालले तत्कालीन निर्देशक आचार्यलाई उक्साएको तथा दुर्व्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो ।
घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुर्व्यवहारबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानबिनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो । तर, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई भने सफाइ दिएको थियो । राष्ट्र बैंकको सो निर्णयमा चित्त नबुझेपछि पीडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा निवेदन दर्ता गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्