images
images
  • दीपक मनाङे डिल्लीबजार कारागार चलान: २ वर्ष ४ महिना कारागारमा बस्नुपर्ने

    काठमाडौं-ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्।

    मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो। मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो।

    सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने । २०७९ मा निर्विरोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चले उच्चको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्‍यो ।

    यही प्रकरणमा मनाङेले यसअघि २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ । उक्त कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारको ख ब्लकमा चलान भएका छन् । मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने प्रहरीको अनुमान छ।तर, जिल्ला अदालतले भने विस्तृत कैदी पुर्जी पछि दिने गरी अहिले कारागार पठाएको बताएको छ।अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले भने, ‘सर्वोच्च अदालतबाट मिसिल प्राप्त भइसकेको छैन। पहिला भुक्तान भएको कटाएर बाँकी बेरूजु कैद असुल गर्नुपर्छ। त्यो हिसाब गरेर पछि विस्तृत कैदी पुर्जी दिने गरी अहिले डिल्लीबजार कारागार पठाएका छौँ।’

    डिल्लीबजार कारागारको ‘ख ब्लक’मा मनाङे ! 
    ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको छ । त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको थियो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको जेलर पूर्णबहादुर खत्रीले बताए ।

    ख ब्लकमा अहिले १५० जना कैदीबन्दी छन् । डिल्लीबजार कारागारकै क ब्लकमा भने साढे ५ सय कैदीबन्दी रहेको खत्रीले बताए । मान्छेको चाप कम हुने भएकाले मनाङे ख ब्कल नै रोजेको हुनसक्ने कारागार प्रशासनको बुझाइ छ ।कैदी चाप कम हुने र हो–हल्ला पनि नहुने, मान्छेको भेटघाटलाई पनि सहज हुने भन्दै अधिकांशजसो भीआईपीहरु डिल्लीबजार कारागारको ख ब्लक नै रोज्ने गर्छन् ।

    दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । त्यसपछि मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

    जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो । फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

    सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङ जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।

     

    प्रतिक्रिया दिनुहोस्

    images