काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन मन्त्रालयको विदेश भ्रमणमा प्रश्न उठाएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयमार्फत् नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएपछि अख्तियारले प्रश्न उठाएको हो ।
आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेरै नेपालबाट ३ जना मात्र जानुपर्ने कोप २९ मा ३१ जनाको जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न गरेको छ ।
मन्त्रालयबाट अजरबैजन गएको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत गरि ३१ जना छन् । राज्य मन्त्री र केही कर्मचारी अझै जाने तयारीमा छन् ।
अख्तियारले अजरबैजनमा त्यत्रो संख्यामा कर्मचारी पठाउनुको आवश्यकता, औचित्य, त्यहाँको कामको जिम्मेवारी के हो भनेर सोधेको प्रश्न सोधेको मन्त्रालय स्रोतले जनाएको छ ।
पत्रको जवाफ लेख्ने कर्मचारी नै अजरबैजनमा
अख्तियारको प्रश्नको जवाफ दिनुपर्ने प्रशासन महाशाखाका प्रमुख एवम् सहसचिव भुपाल बराल पनि अजरबैजन गएका कारण जवाफ पठाउन समय लाग्ने देखिएको छ ।
स्रोतका अनुसार प्रशासन महाशाखा प्रमुख फर्किएपछि मात्र अख्तियारलाई जवाफ पठाउने काम हुनेछ ।
अख्तियारले प्रश्न उठाएका कारण प्रशासन महाशाखा प्रमुख बराल छिट्टै काठमाडौं फर्किने तयारीमा रहेको पनि मन्त्रालय स्रोतले बताएको छ ।
कोप २९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति पौडेल ९ सदस्यीय टोलीको नेतृत्व गर्दै गत आइतबार बाकु प्रस्थान गरेका थिए । ९ सदस्यीय टोलीसहित राष्ट्रपति सहभागी भएको कार्यक्रममा वन मन्त्रालयबाट मात्रै ३१ जनाको टोली अजरबैजन गएपछि अहिले वन मन्त्रालयको विदेश भ्रमण मोहको आलोचना भइरहेको छ ।
विगतमा पनि वन मन्त्रालयका कर्मचारीहरुले एउटा देशको भ्रमण नसकिँदै अर्को देशको भ्रमणका लागि टिकट बुक गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्