images
images
  • माओवादी र सरकार उपेक्षा कारण उपचार नपाएर मुत्युसंग लडिरहेका माओवादी पुर्वलडाकु

    काठमाडौं । दुई वर्षदेखि गुमा परियार बिस्तारामा थलिएकी छन् । पक्षघातले शरीरको दाहिनेतर्फ चल्दैन । खाना खान र शौचालय जान अरूकै सहारा चाहिन्छ । दैनन्दिन रोगले गाल्दैछ । बोली मधुरो र अस्पष्ट हुँदैछ । तीस वर्षीया परियार अहिले जीवनमरणको सङ्घर्षमा छटपटाइरहेका छन् । 

    गलकोट नगरपालिका–७ मल्मकी परियारले आफूलाई ‘ब्रेन ट्युमर’ भएको बताए । उनी अहिले छोरी करिष्मा र करिनासहित माइतीमा बस्छिन् । श्रीमानले बेवास्ता गरेपछि एक वर्षदेखि आमासँग बस्दै आएकी उनले सुनाइन् । “म बिरामी परेपछि घरकाले हेर्नै छाडे, श्रीमान्ले पनि अर्की बिहे गर्छु भन्थे, अहिले त कुनै अत्तोपत्तो छैन”, परियारले भनिन्।

    उनको छिमेकी गाउँ झिर्काका जुने मल्लसँग बिहे भएको थियो । विसं २०७६ कात्तिकमा भने श्रीमान्ले नै उपचारका लागि बुटवल पुर्याएको परियारले सम्झए । त्यहाँको क्रिमसन अस्पतालमा जाँच गरेपछि एक साताका लागि औषधि लिएर घर फर्किएको उनको भनाइ छ । “त्यतिबेला मलाई के भएको भन्ने थाहा भएन, श्रीमानले पनि भनेनन्”, परियारले भने, “पछि रोगले च्याप्दै गयो, म बिस्तारामा परेँ ।”

    गाउँका जानेबुझेकालाई अस्पतालको कागज देखाएपछि मात्र आफूलाई ‘ब्रेन ट्युमर’ भएको थाहा पाएको परियारले बताए। बुटवलको अस्पतालबाट फर्केयता परियारको थप परीक्षण र उपचार हुन सकेको छैन । उनीसँग रोग निको पार्नलाई खाने कुनै औषधिसमेत छैन । पहिले जाँचेका चिकित्सकले उपचारका लागि बोलाए पनि अर्थाभावका कारण जान सकेकी छैनन् । 

    परियारका लागि माइतीमा पनि आमाबाहेक अरु कोही छैन । बुबा चित्रबहादुर बितेपछि ५८ वर्षीया आमा कुमारी सहाराविहीन भएकी छिन् । आमाले मेलापात र ज्यालादारी गरेर परिवारको गुजारा धान्दै आएको परियारले बताए । बिरामी छोरी र दुई नातिनीको हरेचाह एवं पालनपोषणको बोझले बुढ्यौली लाग्दै गर्नुभएकी कुमारीलाई थिचिरहेको छ ।

    “उमेरकी छोरी बिस्तारामा पर्दा पर्नु पीर परेको छ, उपचार गर्न पाए, हात खुट्टा चले श्रीमान्ले नहेरे पनि केही गरेर खाने थिई”, कुमारीले भन्नुभयो, “मैले सक्ने बेलासम्म त जेनतेन गरुँला, पछि कस्तो होला, यी नातिनीहरुले के गर्लान् भनेर माया लाग्छ ।” कतैबाट सहयोग पाए छोरीलाई उपचारका लागि लैजाने धोको उनमा छ ।

    परियारले तत्कालीन माओवादी सशस्त्र युद्धताका जनमुक्ति सेनामा समेत काम गरेका थिए। “सेनामै भर्ती भएर दुई वर्ष जति लडाइँमा सामेल हुनुभएको थियो, पछि समायोजनमा पनि नाम छनोट भएको थियो तर उहाँ जानुभएन”, नेकपा (माओवादी केन्द्र) जिल्ला सचिवालय सदस्य कर्ण विद्रोहीले भने।

    मुलुकको परिवर्तनका खातिर सङ्घर्षमा लागेकी परियारको यस किसिमको पीडादायी स्थिति हुँदासमेत पार्टी र सत्ताको नेतृत्व अनुत्तरदायी बन्नु दुःखद भएको उनको भनाइ छ । परियारको उपचार र पुनस्र्थापनाका लागि पार्टी नेतृत्वले पहलकदमी लिनुपर्ने तथा राज्यका निकायले पनि उचित सहायता दिनुपर्ने विद्रोहीले बताए । परियार र विद्रोही नाताले नजीकका दाइबैनी हुन् ।

    परियारले आफू पार्टीमा भूमिगत भएकै बेला बुबाको निधन भएपछि घर फर्केको बताए । “बुबा बितेपछि आमा घरमा एक्लै हुनुभयो, त्यसपछि म घरमा आएँ, पछि जनमुक्ति सेनामा फर्किनँ”, उनले भने । अहिले पार्टीले आफूलाई बिर्सिएको परियारले गुनासो छ । सञ्चोबिसञ्चो सोध्ने पनि कोही नभएको उनको गुनासो छ ।

    यतिका समयसम्म उनको स्थिति गुमनामझैँ थियो । परियारले सोमबार आफ्नै फेसबुकमार्फत रोगले थलिएको फोटो र सहयोगको याचनासहित पोष्ट सार्वजनिक गरेपछि बल्ल धरैले स्वास्थ्य अवस्थाबारे थाहा पाएका थिए । उनले लेखेका छन्, “मेरो फेसबुकको सम्पूर्ण साथीहरुलाई धेरैधेरै सम्झना छ, म आज यस्तो परिस्थितिमा छु, जुन न म गरेर खान सक्छु, न त मेरेर जान सक्छु, आज दैवको आँखा लाग्यो मेरो जिन्दगीमा, अहिले आएर म सबैका लागि बोझ भएकी छु, साथीहरु मलाई टाउकोको ‘ब्रेन ट्युमर’ भन्ने रोग लागेको छ, मेरो दाहिने हर चल्दैन, मलाई उपचार गर्नका लागि मेरो आर्थिक स्थिति कमजोर छ, उपचार गर्ने पैसा पनि छैन, मेरो उपचार गर्न कोही आफन्ती पनि छैनन्, श्रीमान्ले हेला गरेर माइतीमा बस्छु, मेरो दुईवटी छोरी छन्, मेरो दाजुभाइ पनि कोही छैनन्, माइतमा पनि आमा मात्र हुनुहुन्छ, मेरो श्रीमान्ले पनि उपचार गर्न मानेनन्, साथीहरु मलाई हजुरहरुले सक्दो सहयोग गरिदिनुहोला, सहयोग गर्न चाहनुहुने साथीहरुले (९८४८६१८४६१) मा सम्पर्क गर्नुहोला ।” रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images